– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँको साताजस्तै आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौको सुन्धारास्थित सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५२)मा पुगेका थियौँ। त्यहाँ लगानीकर्ताहरुको आगमन भइरहेको थियो। बिहान सुरुमा बजार केहीबेर बढेको थियो। 

त्यही ब्रोकर हाउस उपस्थित एक लगानीकर्ताले भारतका प्रसिद्ध लगानीकर्ता राकेश झुनझुनावालाको समचार देखाउँदै भने ‘उनीबाट हामीले सिक्नुपर्छ। उनले सेयर बजारमा भाउ नै भगवान हो भनेका छन्, उधारोमा सेयर कारोबार नगर, गल्तीबाट सिक र आशावादी बन्न पनि सुझाव दिएका छन्।’ 

ती लगानीकर्ताले थपे, ‘सेयर बजारमा कारोबार गरेरमात्रै कहिल्यै सिकिँदैन, सिक्ने भनेको गल्तीबाट हो।’

ब्रोकर हाउसको फोनमा घन्टी बजिरहेका थियो। उताबाट बजार  के हुन्छ ? भनेर सोधियो। ब्रोकरले जबाफ दिए, ‘बजार घट्ने आजमात्रै हो किन्नुहोस्।’

केही समयपछि फेरि ब्रोकरको मोबाइलमा घन्टी बज्यो। उताबाट एक लगानीकर्ताले सीआईटी र एनआरआईसी बेच्ने आदेश दिए।

यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। बजारमा ८–९ अंकको मात्रै गिरावट आएको थियो। 

त्यहाँबाट हामी इन्द्रचोकस्थित एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति शून्यप्रायः थियो। हामीले केही समय ब्रोकर सञ्चालकसँग बजारका विषयमा कुराकानी गर्यौँ। 

ती सञ्चालकले बजार तत्काल माथि जान नसक्ने बताए। चुनावपछि मात्रै बजारले नयाँ दिशा लिने उनको तर्क थियो। ‘किनकि अहिले ब्याजदर महँगो भएको छ’, ती सञ्चालकले भने, ‘तर, पनि बजार धेरै तल पनि जाने सम्भावना छैन। केही समय होल्ड गर्ने लगानीकर्ताले जित्नेछन्। अब त लाभांशको सिजन पनि सुरु भएको छ।’ 

त्यहाँबाट हामी कमलादीको कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा पुग्यौँ। यतिबेलासम्म दिउँसको १ बजिसकेको थियो। बजार २० अंकभन्दा बढीले घटेको थियो। 

त्यहाँ लगानीकर्ता बजार हेर्न मस्त थिए। यत्तिकैमा एक लगानीकर्ताले ठट्यौली पारामा भने, ‘सेयर बजार घटेर तनाव भए रक्सी खाऔँ, एचडीएलकै खाऔँ, सेयर पनि एचडीएल र्नै किनौँ, पैसा पनि विदेसियनबाट रोकिने।’

केही समयको बसाइपछि हामी कमलादीकै श्री हरि सेक्युरिटिज (स्टक ब्रोकर नं. ५६)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। घटिरहेको बजार देखाउँदै गम्भीर बन्दै एक लगानीकर्ताले भने, ‘बजार घट्छ भन्न त हुँदैन तर चर्को ब्याजदरले बजार धेरै माथि जाला जस्तो छैन। अब हरेक बढाइ बिक्री मौका हो। गएको एक वर्षदेखि जति किन्यो, घटेको घट्यै छ।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘त्यसरी निराश भइहाल्नुहुँदैन, केही समयपछि बजार बढ्छ नै। घट्ने बढ्ने सामान्य नै हो।’