काठमाण्डौ । भविष्यमा चाहिएको बेला सजिलै उपलब्ध हुने र अन्य ठाउँभन्दा सुरक्षित हुने भएकाले तपाइँ–हामी मेहनतले कमाएको पैसा बैंकमा राख्ने गर्दछौँ। तर यसरी विश्वास गरेर राखेको पैसा बैंक खाताबाट एकाएक गायब हुँदा वा हराउँदा कस्तो होला ? पक्कै पनि आफ्नो पसिनाको कमाइ गायब हुँदा जोकोहीलाई सम्हालिन गाह्रो हुन्छ। 

यस्तै सम्हालिनै कठिन पर्ने खालका घटना भारतको बिहारमा घटेका छन्। त्यहाँको एउटा बैंकमा थुप्रै ग्राहकको खाताबाट पैसा गायब भएको घटना सार्वजनिक भएको हो। 

यो घटना बिहारको बक्सर जिल्लामा अवस्थित ‘दक्षिण बिहार ग्रामीण बैंक’ को हो। बैंकका ग्राहक सतीश कुमारको खाताबाट भारु १४ लाख गायब भएको छ। मेहनत गरी १४ लाख रुपैयाँ जम्मा गरेका सतीशको खातामा अहिले केवल भारु ६२ मात्रै छ। 

सतीशले आफूले बैंकबाट कुनै पनि कारोबार नगरीकनै पैसा गायब भएको बताए। सतीश त्यतिबेला छाँगाबाट खसेजस्तै भए जतिबेलाई उनलाई आफ्नो खाताबाट पैसा झिकिएको जानकारी प्राप्त भयो। ‘मेरो खाताबाट गत महिनाको ९ तारिखमा ११ लाख र ११ तारिखमा ३ लाख रुपैयाँ झिकिएको जानकारी थाहा पाएँ’, उनले भने, ‘तर, मैले आजसम्म बैंकबाट पैसा झिकेको छैन। यसबारे बैंकका कर्मचारीहरुलाई बताउँदा उनीहरुले छानबिन हुँदैछ भन्ने गरेका छन्।’ 

यस्तै अर्का पीडित टुनटुन रायले पनि आफ्नो खाताबाट ३ लाख गायब भएको गुनासो गरे। ‘केही समयअघिमात्रै ३ लाख जम्मा गरेको थिएँ’, उनले भने, ‘अहिले खातामा केवल १६०० मात्रै छ।’ 

यी दुुई प्रतिनिधि पात्रमात्रै भएको र अन्य धेरैले पनि आफ्नो खाताबाट पैसा हराएको गुनासो गरेको भारतीय मिडियाहरुले जनाएका छन्। उनीहरुले यसको प्रत्यक्ष आरोप बैंकका पूर्वम्यानेजर रवि कुमारमाथि लगाएका छन्। 

अधिकारीहरुले यस घटनामा केही गडबडी भएको देखिएको र कतिजनाको खाताबाट पैसा गायब भएको छ भन्नेबारे अनुसन्धानपछि मात्रै पत्ता लाग्ने बताएका छन्। – एजेन्सी