काठमाण्डौ । अमेरिकामा सत्तारुढ डेमोक्रेटिक पार्टीले बुधबार नागरिकता विधेयक पेस गरेको छ। 

नागरिकता विधेयकमा अन्य देशका लागि ग्रीन कार्ड कोटा खारेज गर्ने र एच–१बी भिसा प्रणालीमा परिवर्तन गर्ने प्रावधान समावेश गरिएको छ। कांग्रेस सदस्य लिन्डा सान्चेजद्वारा पेस गरिएको ‘अमेरिकी नागरिकता ऐन, २०२३’मा सबै ११ लाख अप्रमाणित आप्रवासीलाई नागरिकता प्रदान गर्ने रुपरेखा तयार गरिएको छ। विधेयकमा हरेक देशको कोटा हटाएर रोजगारीमा आधारित अध्यागमन प्रणालीमा पनि परिवर्तनको प्रस्ताव गरिएको छ। 

यो विधेयकले अमेरिकी विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा डिग्री लिएका मानिसलाई अमेरिकामा बस्न सजिलो बनाउनेछ। यसका साथै कम ज्याला दिने उद्योगहरुमा काम गर्नेहरुका लागि ग्रीन कार्ड सुरक्षित गर्ने, एच–१बी भिसाधारकका आश्रितलाई अमेरिकामा काम गर्न अनुमति दिने र एच–१बी भिसाधारकका बालबच्चालाई यो प्रणालीबाट बाहिर राख्न मद्दत गर्नेछ। 

एच–१बी भिसा एक गैरआप्रवासी भिसा हो। जसले अमेरिकी कम्पनीहरुलाई सैद्धान्तिक वा प्राविधिक विशेषज्ञता आवश्यक पर्ने पेसाहरुमा विदेशी कामदारलाई काम गर्न अनुमति दिन्छ। टेक्नोलोजी कम्पनीहरुले भारत र चीनजस्ता देशबाट प्रत्येक वर्ष हजारौँ कर्मचारी भर्ती गर्न एच–१बी भिसामा भर पर्छन्।

ग्रीन कार्ड आधिकारिक रुपमा स्थायी निवास कार्डका रुपमा चिनिन्छ। ग्रीन कार्ड भनेको अमेरिकामा आप्रवासीलाई जारी गरिएको एउटा दस्तावेज हो। जुन प्रमाणका रुपमा ग्रीन कार्डधारकलाई स्थायी रुपमा अमेरिकामा बस्न अनुमति दिइन्छ। 

यो विधेयकपछि अमेरिकामा नयाँ बहस सुरु भएको छ। प्रजातान्त्रिक नेता हाकिम जेफ्रिसले अमेरिका निर्माणमा आप्रवासीको भूमिकालाई जोड दिए। उनले अध्यागमन ऐन परिमार्जन गर्नुपर्ने धारणा पनि राखे। –एजेन्सी