काठमाण्डौ । ग्लोबल मनी विकअन्तर्गत कृषि विकास बैंकको गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा शनिबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। 

विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषय लिई अध्ययनरत विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रेमकुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाकी निर्देशक आर्या जोशीले वित्तीय साक्षरता सम्वन्धमा प्रशिक्षण दिएका हुन्। कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकताअनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मा गर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरु र कृष् िाविकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रडक्टहरु र त्यसको उपयोगिता का अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो। 

गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कँडेलको अध्यक्षता, नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीको प्रमुख आतिथ्यता र कृषि विकास बैंक मुख्य कार्यालयका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठको विशिष्ट आतित्थता रहेको कार्यक्रममा प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुखहरु कृष्णकुमारी पौडेल, महेश पौडेल, भीम सुवेदीलगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो। 

कार्यक्रमको अन्त्यमा उपमहाप्रबन्धक श्रेष्ठबाट नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशी र गुरुकुल विद्यासदका प्राचार्य नारायण आचार्यलाई बैंकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। 

बैंकको नयाँबजार शाखा कार्यालयका प्रबन्धक हिमलाल श्रेष्ठको नेतृत्वमा उपस्थित कर्मचारीहरुले विद्यार्थीहरुको बैंक खाता खोल्ने कामसमेत गर्नुभएको थियो भने अनलाइन खाता खोल्न पनि सिकाइएको थियो।