काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४) को व्यवस्थापन तथा नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको आयोजनामा शनिबार शिवराज–२ वालपुरस्थित सिद्धार्थ लुम्वीनी ग्रिन रिसोर्टमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। 

ग्लोबल मनी विक–२०२३ का अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत भिजन सेक्युरिटिजले यो कार्यक्रमको आयोजना गरेको हो। धितोपत्र बजारसम्बन्धी हालसम्म कार्यक्रम नभएका र कम भएका जिल्ला तथा प्रदेशजस्ता स्थानमा कम्तीमा एक स्थानमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँग समन्वयमा कार्यक्रमको आयोजना गर्ने नेपाल धितोपत्र बोर्डको निर्णयानुसार भिजनले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको चन्द्रौटामा सचेतना कार्यक्रमको आयोजना गरेको हो। 

धितोपत्र बोर्डका प्रतिनिधि, स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधि तथा अन्य स्थानीय संघसंस्थाका, सामाजिक संस्थाहरुका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरुसमेतको उपस्थितिमा प्रदेशसभा सांसद (कपिलवस्तु प्रदेश ३ क) अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न गरिएको भिजनले जनाएको छ। 

धितोपत्र बजार तथा सोको कारोबार सम्बन्धमा लगानिकर्तालाई थप जानकारी तथा सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा धितोपत्र बजारसम्बन्धी नीति, नियम तथा प्रावधानहरुको विषयमा धितोपत्र बोर्डका प्रतिनिधि सहायक निर्देशक भुवन देसारले कार्यपत्र प्रस्तुतसहित प्रशिक्षण दिएका थिए। 

दोस्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले ध्यान दिनुपर्ने विषयमा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए। 

कार्यक्रममा विभिन्न संघसंस्था, सामाजिक संस्था, वित्तीय तथा बीमा कम्पनीबाट आएका अतिथि सहभागीहरुसहित २५० जना लगानीकर्ताको सहभागिता थियो।

भिजन सेक्युरिटिजले हाल उपत्यकाबाहिर चारदोवाटो–वनेपा, नारायणपथ–भैरहवा, सभापतीचोक–कावासोती, सफासडक–दमौली,  गणेशटोल–वेनी  कास्की– विरौटा, ईलाम–ईलाम वजार, कैलाली–टिकापुर र कपिलवस्तुको चन्द्रौटामा गरी ९ वटा शाखाबाट सेयर कारोबारसम्बन्धी सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तगैत आगामी दिनहरुमा इलामको इलाम बजार, तनहँुको दमौली तथा कैलालीको टिकापुरमा यस प्रकारका लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेसमेत भिजनले जनाएको छ।