काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्द्धन गर्दै ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिकाअनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाइने ‘ग्लोबल मनी विक’को एघारौँ संस्करणका रुपमा एनआईसी एशिया लघुवित्तले पनि चालु चैत महिनाको ६ देखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको हो। 

यसरी सञ्चालन गरिएका कार्यक्रमहरुमा हजारौँको संख्यामा महिलाहरुको सहभागितामा सातै प्रदेश कार्यालयअन्तर्गतका उपप्रदेश तथा शाखा कार्यालयहरुमार्फत देशव्यापी रुपमा वित्तीय अनुशासन र चेतना अभिवृद्धि अभियान कार्यक्रमहरु आयोजना भई सम्पन्न भएका हुन्। यसका साथै सो अभियानअन्तर्गत संस्थाले वित्तीय साक्षरतासम्बन्धी सचेतनामूलक श्रव्यदृश्यसहितका अभिमुखीकरण र अन्तर्क्रियाका साथसाथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्डसहितको र्याली कार्यक्रम सञ्चालन सम्पन्न गरेको छ र सो कार्यक्रमबाट समुदायस्तरका महिलाहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, बचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषणजस्ता कुराहरुमा चेतना वृद्धि भई समुदायस्तरका व्यक्तिहरुलाई आफ्नो आर्थिक व्यवस्थापन गर्नमा सहज वातावरण हुने विश्वासका साथ ंस्थाले यस्था कार्यक्रम सञ्चालन गरेको हो।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलुकमा सञ्चालन हँुदै आएको ग्लोबल मनी विक मूलतः वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वब्यापी रुपमा थालिएको अभियान हो र यसलाई सार्थक तुल्याउन संस्थाले विश्व वित्तीय सप्ताह–२०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सोसम्बन्धी र्याली कार्यक्रम सञ्चालन गरेको हो। 

“साथी संगै सबल बन्दै” भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र देशकै एउटा ठूलो सबल, सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित भइरहेको छ। 

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्तले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २००,००० भन्दा बढी न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।

सुनसरीको इटहरीमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको संस्थाले आगामी दिनहरुमा पनि सोहीअनुरुप कार्य गर्ने प्रतिबद्धता जनाएको छ।