काठमाण्डौ । ग्लोबल आईएमई बैंकले ३ अर्ब रुपैयाँबराबरको ‘८.५ प्रतिशत ग्लोबल आईएमई बैंक डिबेच्नर २०८६/८७’ आउँदो चैत १ गते निष्कासन गर्ने भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताहरुले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्ति सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। 

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत ४ गते र ढिलामा चैत १६ गते बैंकिङ समयपछि हुनेछ। 

ग्लोबल आईएमई बैंकको यो ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डले गत फागुन १६ गते अनुमति दिएको छ। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।