काठमाण्डौ । ग्लोबल आईएमई बैंकको ३ अर्ब रुपैयाँबराबरको ‘८.५% ग्लोबल आईएमई बैंक डिबेच्नर २०८६/८७’ आज (चैत १ गते) बाट आवेदन खुला गरिएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल १२ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्ति सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। 

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत ४ गते र ढिलामा चैत १६ गते बैंकिङ समयपछि हुनेछ। 

ग्लोबल आईएमई बैंकको यो ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डले गत फागुन १६ गते अनुमति दिएको थियो। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ। 

बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा प्रस्तावित क्रणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्री हुने अवस्थामा रहेको बैंकले जनाएको छ। 

बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले बैंकलाई औसत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ। 

त्यसैगरी ऋणपत्रलाई भने कम जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।