काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडको रु. ३ अर्बको ‘८.५% ग्लोबल आईएमई बैंक डिबेन्चर–२०८६/८७’ मा आवेदन दिने म्याद लम्बिएको छ। 

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत ४ गते र ढिलामा चैत १६ गते बैंकिङ समयपछि भनिएको थियो। तर मागबमोजिम आवेदन नपरेका कारण म्याद लम्बाउनुपरेको धितोपत्र बिक्री प्रबन्धक सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ। अब चैत १६ गतेअघि नै मागभन्दा बढी आवेदन परेमा जुनसुकै दिन सूचना प्रकाशित गरी निष्कासन गर्न गरिने क्यापिटलले जनाएको छ।

गत चैत १ गतेदेखि यो ऋणपत्रको निष्कासन गरिएको थियो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल १२ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्ति सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। 

ग्लोबल आईएमई बैंकको यो ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डले गत फागुन १६ गते अनुमति दिएको थियो। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।