काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ।

यस सम्बन्धमा दुवै बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा मुक्तिनाथ विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन्। 

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्। 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। 

यसैगरी ‘‘जनता बैंक मा होइन, बैंक जनतामा जानु पर्दछ’’ भन्ने नाराका साथ सन् २००७ मा  स्थापित मुक्तिनाथ विकास बैंकले नेपालमा अग्रणी विकास बैंकका रुपमा आफ्नो परिचय बनाएको छ। बैंकले देशभर रहेका आफ्ना १६५ वटा शाखा कार्यलय, १ एक्सटेन्सन काउन्टर र ४५०० भन्दा बढी मुक्तिनाथ रेमिट एजेन्टमार्फत सेवा प्रवाह गर्दै आएको छ।