काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ।

बेलायतको लन्डनमा बुधबार आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका छन्। 

सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो। बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो।

युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ। युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन्।

अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।