काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस)का लागि सम्झौता भएको छ। 

सम्झौतापत्रमा जीआईसीएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

जीआईसीएलले विगत ६ वर्षदेखि प्राविधिक सदस्यका रुपमा एनसीएचएल–आईपीएस प्रणालीको प्रयोग गर्दै आएको छ। एनपीएसको उक्त सम्झौतापश्चात जीआईसीएलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएसअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ। जसमार्फत डिभिडेन्ड भुक्तानी, डीपीको शुल्क संकलन, ट्रेड तथा म्युचुअल फन्डसम्बन्धी भुक्तानीलगायत आफ्ना विभिन्न प्रकारका भुक्तानी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछन्। पहिलो चरणमा जीआईसीएलले रिक्वेस्ट टु पे डाइरेक्ट डेबिटअन्तर्गत विभिन्न संकलन तथा डिभिडेन्डसम्बन्धी भुक्तानीहरुको कारोबारको थालनी गर्नेछ। 

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी÷पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ७३ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

ग्लोबल आइएमई क्यापिटल (जीआईसीएल) मर्चेन्ट बैंकिङसम्बन्धी कार्य सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्था हो। ग्लोबल आईएमई बैंकको एक सहायक कम्पनीका रूपमा सन् २००८ देखि जीआईसीएलले निष्कासन व्यवस्थापन, सेयर रजिस्ट्रार, अन्डरराइटिङ, पोर्टफोलियो व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, निक्षेप सहभागी र कर्पोरेट सल्लाहकारलगायत सेवाहरू प्रदान गर्दै आएको छ। जीआईसीएलले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ भने एनसीएचएलसँगको यस सहकार्यले कम्पनीको सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ।