काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडबीच मर्जरका लागि सोमबार अन्तिम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्ब र कुल कर्जा रु. ३७९ अर्बभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ। 

नयाँ बैंकको नाम ग्लोबल आइएमई बीओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य रहनेछन्। 

२१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमई बीओकेमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्। यसका साथै दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन्। 

दुई बैंकहरुको मर्जरपश्चात कुल ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बीओके मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ। 

दुवै बैंक आपसमा गाभिएपश्चात संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवं सक्षम बैंकका रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई उच्चतम प्रतिफल दिने विश्वास बैंकले लिएको छ। 

हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्षहरुले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने सयुंक्त प्रतिबद्धता व्यक्त गरे। 

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने उल्लेख गर्दै ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पुर्याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए। 

ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैँ पहिलो हुने गरेको बताउँदै ढकालले तदअनुरुप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए। उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे। 

मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने ढकालले बताए। उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको धारणा राखे। 

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए। ‘मुलुकको आर्थिक रुपान्तरण र आर्थिक समृद्धिका लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ। त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बीओकेले गर्नेछ’, उनले भने। 

श्रेष्ठले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे। 

कार्यक्रममा दुवै बैंकका अध्यक्षहरुले मर्जर प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालकहरु, सेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्रलगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुक प्रति हार्दिक आभार व्यक्त गरे। 

संयुक्त मर्जर समितिका संयोजक राधेश पन्तले मर्जर समितिले बैंकका लगानीकर्ता, कर्मचारी तथा समग्र बैंकलाई केन्द्रमा राखेर मर्जर समितिले काम गरेको उल्लेख गर्दै दिगो र उच्च प्रतिफल दिन ठूलो बैंकले मात्र सक्ने बताए।