काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर प्रक्रिया पूरा गरी यही पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले गत पुस १७ गते दुवै बैंकलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको थियो। दुवै बैंकले कम्पनी रजिस्ट्राको कार्यालयबाट गत पुस १९ गते एकीकृत कारोबारका लागि स्वीकृति पाएका थिए।
राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट स्वीकृति पाएसँगै दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्ब र कुल कर्जा रु. ३७९ अर्बभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।
बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य रहनेछन्।
२१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमई बीओकेमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्। यसका साथै दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन्।
दुई बैंकहरुको मर्जरपश्चात कुल ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बीओके मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।
4 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago