काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेको २७ वटा शाखाका फिल्ड सहायकहरुको अन्तर्क्रियासहित जोखिम तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ। 

नेपालगन्जको न्यु होटेल इन्द्रेणी एन्ड रेस्टुरेन्टमा फागुन २९ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका कर्जा विभाग प्रमुख पदमबहादुर घिमिरेले उद्घाटन गरेका थिए। 

कार्यक्रममा कर्मचारीहरुले कार्य सञ्चालनका क्रममा भोगेका समस्या र चुनौती प्रस्तुत गर्दै केन्द्रीय कार्यालयको समन्वयमा शाखाको लक्ष्यअनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए। यस तालिम कार्यक्रममा कर्मचारीको असल आचरण, अनुशासन, सुपरिवेक्षण र लेखन सीपबारे जानकारी गराउँदै कर्जा जोखिम व्यवस्थापनका लागि अपनाउनुपर्ने रणनीतिबारे कक्षा सञ्चालन भएको थियो।

कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाका वरिष्ठ प्रबन्धक पदमबहादुर घिमिरेले फिल्ड कर्मचारीहरुले अहोरात्र खटेर जिम्मेवारी बहन गर्दै आएकामा प्रशंसा गर्दै लघुवित्त क्षेत्रले हाल भोग्नुपरेका समस्याका साथै लघुवित्तको चुनौती तथा अवसरहरुका बारेमा जानकारी गराएका थिए। उनले आ–आफ्नो शाखाको चालु त्रैमासको लक्ष्य प्राप्तिका रणनीतिसँगै सफलताको शुभकामना दिएका थिए। 

कार्यक्रममा वित्तीय संस्थाका ३ विभागीय प्रमुखलगायत ४५ जना कर्मचारीको सहभागिता थियो।