काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल बीचको जारी मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति(एलओआई) दिएको छ । 

राष्ट्रबैंकको केही दिनअघि बसेको संचालक समितिको बैठकले ग्लोबल आइएमई र जनता बैंकको जारी मर्जर प्रक्रियालाई एलओआई दिने निर्णय गरेको हो । 

योसँगै केन्द्रीय बैंकले दुवै बैंकलाई आपसमा मर्ज भई तीन महिनाभित्र एकीकृत कारोबार थालिसक्न समेत निर्देशन दिएको छ । 

चालु आर्थिक वर्षका लागि मौदिक नीति बन्दै गर्दा नै नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकका सीइओ र अध्यक्षहरुलाई बोलाएर उपयुक्त मर्जर पार्टनर खोज्न निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनको पालना गर्दै ग्लोबल आइएमई र जनताले मर्जर सम्झौता गरेका थिए । यो सम्झौता अन्य वाणिज्य बैंकहरुका लागि समेत मर्जरमा जानुपर्ने दवाबको कारण बन्न पुगेको छ । यसकारण समेत यी दुई बैंकको मर्जरलाई चासोका साथ हेरिएको छ । 

यी दुई बैंकबीच मर्जर भएपछि जनता बैंक नेपाल इतिहासको पानामा सीमित हुनेछ, अर्थात मर्जरपछि बन्ने एकीकृत संस्थाको नाम ग्लोबल आइएमई बैंक नै रहने यसअघि सहमति भइसकेको छ । 

मर्जरपछि बन्ने संचालक समितिको अध्यक्ष ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल नै रहने सहमति छ । 

एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा हाल जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले नै निरन्तरता पाउने छन् भने ग्लोबल आइएमई बैंकमा कामु सीइओको रुपमा कार्यरत महेश ढकाल वरिष्ठ सीइओको रुपमा रहनेछन् । 

बैंक स्रोतहरुका अनुसार दुवैको सम्पत्ति तथा दायीत्व मूल्यांकन(डिडिए)को काम सकिइसकेको छ । दुई बैंकको सहमतिअनुसार डिडिएले समेत १०० बराबर ८५ सेयर स्वापकै हाराहारीमा मर्ज हुने संकेत गरेको बैंकस्थित स्रोतले जनाएको छ ।

दुवै बैंकका जुँधेका शाखाहरुको व्यवस्थापन लगायतका काम पनि सकिएका छन् । 

यी दुवै बैंकले मर्जर सम्झौता गर्दा असोजभित्रमा एकीकृत कारोबार थालिसक्ने बताएका थिए । तर मर्जरका काममा केही ढिलासुस्ती हुँदा अब ढिलोमा पनि मंसिरभित्रमा यी दुई बैंक एक भई एकीकृत थालिसक्ने देखिन्छ ।