काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को वार्षिक साधारणसभा आज (मंसिर २३ गते) बस्दैछ। 

ग्लोबल आइएमईको १६ औँ वार्षिक साधारणसभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट हुनेछ। बीओकेको २८ औँ वार्षिक साधारणसभा भने काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट हुनेछ।

दुवै सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। सभाले डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्नेछ। 

सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

यसैगरी ग्लोबल आइएमईको वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९को मुनाफासमेतबाट चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) स्वीकृत गर्ने र सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका विशेष दस्तावेजहरु अनुमोदन गर्नेछ। 

यसैगरी बीओकेको सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९को मुनाफासमेतबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) छन्। 

सभाले बोनस सेयर जारी भएपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोल सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। 

दुवै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका विशेष दस्तावेजहरु अनुमोदन गर्नेछ।