– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता पनि सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने २ दिन बढेको छ। 

गत साताको अन्तिम कारोबार दिनमा बजार २०२२.६२ मा बन्द भएको थियो। यो साताको अन्तिम कारोबार दिन आज बजार १९७०.६२ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा ५२ अंकले गिरावट आएको छ। गत साता पनि सेयर बजारमा ४५.६४ अंकको गिरावट आएको थियो। 

यो साता सेयर बजारमा जम्मा ७ अर्ब ४६ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार गत साता ९ अर्ब ४९ करोड २१ लाख रुपैयाँबराबरको भएको थियो। गत साताको तुलनामा यो साता कारोबार झन्डै २ अर्ब रुपैयाँले घटेको छ। 

प्राविधिक पक्ष

इचिमोकुका आधारमा

इचिमोकुका आधारमा मूल्य रेखाहरु क्लाउड पोजिसनभन्दा तल झरेका छन्। यसले बजारमा बिक्रीचाप परेको देखिन्छ।(हेर्नुहोस् कालो एरो) 

यही साता क्लाउडको पोजिसन पनि हरियोबाट रातो रङमा परिणत भएको छ। यसले यो साता पनि बिक्रीचाप परेको देखिन्छ। (हेर्नुहोस् रातो एरो)

मुभिङ एभरेजका आधारमा 

मुभिङ एभरेजका आधारमा यो साता पनि बजारमा बिक्रीचाप परेको छ। ५० दिने मुभिङ एभरेजका आधारमा बजारलाई नियाल्दा मूल्यरेखाहरु मुभिङ एभरेजका लाइनभन्दा तल नै कारोबार भएको देखिन्छ। (हेर्नुहोस् रातो एरो)

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोध लिएर तल झरेको देखिन्छ। यो साता रातो क्यान्डल बनेको देखिन्छ। अप्पर ब्यान्ड केही खुम्चिएर तल झरेको देखिन्छ। 

साप्ताहिक चार्टमै म्याक्डीमार्फत हेर्दा बजार गत २४ जुलाईमा बुलिस क्रसओभर बनेको भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम पोजिटिभ भए पनि छोटो हुँदै गएको देखिन्छ। 

आरएसआई पनि घट्दो क्रममा ३६ को जोनमा रहेको छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– २०६३
प्रतिरोध २– २११४
प्रतिरोध ३– २१३९

पिभट प्वइन्टः  २०४३

घटेमा सपोर्ट 

सपोर्ट १– १९९७
सपोर्ट २– १९७२
सपोर्ट ३– १९२६

निष्कर्ष

गत साता ४५ अंकको गिरावट आएको बजार यो साता ५२ अंकले गिरावट आएको छ। कारोबार पनि गत साताभन्दा झन्डै २ अर्ब रुपैयाँले घटेको छ। यस हिसाबले बजारमा बिक्रीचाप परेको देखिन्छ। इचिमोकु तथा मुभिङ एभरेजबाट बजारमा बिक्रीचाप परेको बुझिन्छ। पिभट प्वइन्टमार्फत बजारलाई नियाल्दा यो साता बजार दोस्रो सपोर्ट १९७० भन्दा माथि बन्द भएको छ। 

आगामी साताको पिभट प्वइन्ट २०४३ भन्दा माथि गएमा बजार अप ट्रेन्ड तथा तल गएमा डाउन ट्रेन्ड गएको मानिनेछ। घट्दै गएको बजारमा भोलुम हराउनुले सप्लाई कमी हुँदै गएको र आगामी साता पनि यही अवस्था आएमा बजारले १९०० माथिकै कुनै पनि विन्दुबाट यूटर्न लिन सक्ने सम्भावना पनि उत्तिक रहेको छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।