काठमाण्डौ । सेयर बजारको निरन्तर गिरावटको प्रभाव विभिन्न मर्चेन्ट बैंकको व्यवस्थापनमा संचालित म्युुचुुअल फण्डहरुमा समेत देखिएको छ । भदौ मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका तीन म्युचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा बजार गिरावटको असर देखिएको हो । 

ग्लोबल आइएमई क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी स्किम ‘ग्लोबल आइएमई समुन्नति स्कीम १’ को प्रति इकाई खूद सम्पत्ति मूल्यमा साउनको तुलनामा भदौमा केही गिरावट आएको छ । यो स्किमले सोमबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार भदौ मसान्तसम्म प्रति इकाई खूद सम्पत्ति मूल्य १०.२८ रुपैयाँ कायम भएको हो । साउन मसान्तसम्म यस्तो मूल्य १०.६४ रुपैयाँ थियो । 

कुल १ अर्बबाट सुरु भएको यो स्किमले भदौ मसान्तसम्म सूचिकृत धितोपत्रमा ६५ करोड ८२ लाख तथा ५ करोड ६ लाख सूचिकृत नभएका धितोपत्रमा लगानी गरेको छ । यो स्किमले ८६ सूचिकृत कम्पनीका १४ लाख ९५ हजार ९ सय ९० कित्तामा लगानी गरेको छ । 

यो फण्डको भदौ मसान्तसम्मको खूद नाफा ८ करोड ११ लाख रहेको छ । साउन मसान्तसम्म यो स्किमको खूद नाफा ११ करोड ६८ लाख थियो । 

यसैगरी, लक्ष्मी क्यापिटल मार्केट लिमीटेडबाट संचालित दुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) समेत घटेको छ । 

पाँचवर्षे बन्दमुखी ‘लक्ष्मी भ्यालूू फण्ड १’ को साउन मसान्तसम्म ११.९७ रुपैयाँ रहेको न्याभ घटेर भदौ मसान्तसम्म ११.४८ मा झरेको छ । ५० करोडबाट सुरु भएको यो स्किमले भदौ मसान्तसम्म ३४ करोड ९० लाख रुपैयाँ सूचिकृत धितोपत्र तथा १ लाख १३ हजार सार्वजनिक निश्कासनमा लगानी गरेको छ । यो स्किमले ४० सूचिकृत कम्पनीको ४ लाख ६४ हजार कित्तामा लगानी गरेको छ । 

यो फण्डले सबैभन्दा बढी सानिमा बैंक लिमीटेडको ४१ हजार ७ सय १२ कित्ता सेयर खरीद गरेको छ । यस्तै, ९ करोड रुपैयाँ मुद्धती खातामा राखेको छ भने १२ करोड ६५ लाख बैंक ब्यालेन्सको रुपमा राखेको छ । यो फण्डले भदौ मसान्तसम्म १ करोड ५५ लाख घाटा व्यहोरेको छ । 

यस्तै, लक्ष्मी क्यापिटल मार्केट लिमीटेडबाट संचालित ७ वर्षे बन्दमुखी ‘लक्ष्मी इक्वीटी फण्ड’को साउन मसान्तसम्म ९.९७  रुपैयाँ रहेको न्याभ घटेर भदौ मसान्तसम्म ९.८४ रुपैयाँ कायम भएको छ । 

कुल १ अर्ब २५ करोडबाट सुरु भएको स्किमले भदौ मसान्तसम्म ५१ करोड ६५ लाख सूचिकृत कम्पनीको धितोपत्रमा लगानी गरेको छ । यस्तै, २ लाख ८२ हजार सार्वजनिक निश्कासनमा लगानी गरेको छ । यो स्किमले ४८ सूचिकृत कम्पनीको ७ लाख १९ हजार कित्तामा लगानी गरेको छ । 

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा धेरे माछापुच्छे बैंकको ४१ ह्जार २ सय २५ कित्ता सेयरमा लगानी गरेको छ । यसले २५ करोड रुपैयाँ मुद्धती खातामा राखेको छ भने ४३ करोड ९१ लख बैंक ब्यालेन्सको रुपमा राखेको छ । 

भदौ मसान्तसम्म यो स्किम पनि १ करोड ७८ लाख खूद घाटामा छ ।