काठमाण्डौ । चाडपर्व लागेसँगै निर्यातभन्दा आयात बढी हुँदा तथा सोचेजस्तो रेमिट्यान्स नआउँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा चाप पर्न थालेको बताइएको छ। 

सरकारको ढुकुटीमा राजस्व थुप्रिँदा र विकास खर्चले गति लिन नसक्दा पनि तरलतामा चाप परेको केही बैंकर तथा अर्थविद्हरुले बताएका छन् । केही अर्थविद्हरुले शोधानन्तर घाटाको स्थिति रहँदा डलर सञ्चितीमा दबाब पर्न थालेको पनि बताइरहेका छन्। 

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले हाल राष्ट्र बैंकमा विदेशी मुद्रा ९ महिनाका लागि पुग्ने अवस्थामा रहेकोले आत्तिहाल्नुपर्ने अवस्था नरहेको तर्क गर्छन्। ‘यसो भनेर हामीले आँखा चिम्लिनु भन्न हुन्न, सचेत हुनुपर्छ’, उनले भने, ‘विलाशिताका सामान आयातमा ध्यान दिनुपर्नेछ।’ 

प्रवक्ता ढकालले बजारमा चर्चा चलेजस्तो अहिले नै तरलताको अभाव भने नरहेको बताए। ‘हाल बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँबराबरको अधिक तरलता छ अनि कसरी तरलता अभाव भयो ?’, उनले प्रश्न गरे, ‘बजारमा तरलता अभाव भएको भन्ने भनाइमा कुनै सत्यता छैन।’

हाल पुनरकर्जाको ११८ अर्ब रुपैयाँ बाहिर गएको भन्दै ढकाले यसले पनि तरलता व्यवस्थापनमा सहज हुने बताए। 

हाल अन्तरबैंकिङ ब्याजदर पनि ४.९६ प्रतिशतबाट घटेर ४.९५ प्रतिशतमा आएको छ। सीडी रेसियो पनि विस्तारै कम हुँदै गएको छ । हाल सीडी रेसियो ८८.४३ बाट घटेर ८८.४० मा आएको छ। 

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने कर्जा परिचालन ४४ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ। 

केन्द्रीय बैंकको तथ्यांक अनुसार सोमबार स्थायी तरलता सुविधा (एसएलएफ) र रिपोसमेत गरेर बैंकहरुसँग दायित्व ८४ अर्ब ९ करोड रुपैयाँ बाँकी रहेको छ। योबाहेक बैंकहरुसँग ४ अर्ब रुपैयाँ तरलता देखिन्छ। राष्ट्र बैंकसँगको दायित्व नरहने हो भने बैंकहरु ८० अर्ब रुपैयाँ तरलता अभावमा हुन्थे। 

बैंकहरुले सोमबारमात्रै १० अर्ब ५ करोड रुपैयाँ एसएलएफ चलाएका छन्। बैंकहरुले चालु वर्ष ६ खर्ब ३ अर्ब रुपैयाँ एसएलएफ चलाइसकेको राष्ट्र बैंकले जनाएको छ।