काठमाण्डौ । सेयर बजारमा चमक आएसँगै वाणिज्य बैंकहरुले धमाधम सेयर धितो कर्जा प्रवाह गरिरहेका छन्। लगानीकर्ताहरुले बढ्दो सेयर बजारमा राम्रै प्रतिफल हासिल गर्न बैंकहरुबाट सेयर धितो कर्जा लिएर लगानी बढाइरहेका छन्। 

बजार जानकारहरु बैंक ब्याजदर घट्दै गएमा सेयर बजारमा झनै उछाल आउने बताइरहेका छन्। यस्तो अवस्थामा बजारमा लगानी बढ्ने र बजार थप उचाइ पुग्ने उनीहरुको भनाइ छ।

आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छैटौँ महिनाको आर्थिक तथा वित्तीय तथ्यांक सार्वजनिक गरेको छ। यो तथ्यांकले सेयर बजारका आमलगानीकर्ता थप उत्साहित हुने देखिन्छ। तथ्यांकअनुसार समीक्षा अवधिमा बैंकहरुको औसत आधार दर घटेको छ। 

तथ्यांकअनुसार गत मंसिरको तुलनामा पुसमा बैंकहरुको औसत आधार दर ०.१८ प्रतिशतले घटेको छ। गत मंसिरमा बैंकहरुको औसत आधार दर ७.३६ प्रतिशत थियो भने पुसमा घटेर ७.१८ प्रतिशतमा सीमित बनेको छ। 

त्यसो त बैंकहरुको औसत आधार दर गत वर्ष पुसमा ९.४३ प्रतिशत रहेको थियो। यो हिसाबले गत वर्षको तुलनामा यो वर्ष पुसमा औसत आधार दर २.२५ प्रतिशतले घटेको छ।

यो वर्ष पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.०९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः ६.७९ प्रतिशत र ११.९४ प्रतिशत रहेका थिए।

गत वर्ष पुसमा ९१ दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.१७ प्रतिशत रहेकोमा यो वर्ष पुसमा ०.८७ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष पुसमा १.७६ प्रतिशत रहेकोमा यो वर्ष पुसमा ०.१४ प्रतिशत रहेको छ। 

मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रुपमा लिइने औसत अन्तरबैंक ब्याजदर यो वर्ष पुसमा ०.१८ प्रतिशत छ।