काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्ष ब्याजदर घटेको देखिएको छ । 

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय परिदृश्यको विश्लेषणमा पोहोरको भन्दा यो वर्ष ब्याजदर कम हुँदै गएको देखिएको हो । 

तरलता केही टाइट भएर ब्याजदर बढ्ने कतिपयको निराधार हल्लालाई चिर्ने गरी राष्ट्रबैंकले यो तस्विर बाहिर ल्याएको हो । ब्याजदर कम र कोरोना प्रभाव समेत कम भएसँगै व्यापार व्यवसाय गर्नेहरुलाई सस्तोमा ऋण पाउने अवस्था समेत बनेको यसले देखाउँछ। 

यसैगरी, ब्याजदर घट्दा यसले पूँजीबजारमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ । 

राष्ट्रबैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ जेठमा ८.६६ प्रतिशत रहेकोमा २०७८ जेठमा ६.६६ प्रतिशत कायम भएको छ । यसले बैंकहरुले प्रवाह गर्ने ऋणको ब्याजदर पोहोरको तुलनामा यो वर्ष सस्तो रहेको देखाउँछ । 

यस्तै, २०७८ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ६.१७ प्रतिशत र १०.४३ प्रतिशत रहेका थिए ।

२०७७ जेठमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर २.८१ प्रतिशत रहेकोमा २०७८ जेठमा ३.७९ प्रतिशत रहेको छ । 

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ जेठमा २.८० प्रतिशत रहेकोमा २०७८ जेठमा ३.२१ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ जेठमा ३.२४ प्रतिशत रहेको छ ।