– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजारमा लगानीकर्ताको संख्या पछिल्लो समय बढ्दै गएको छ। 

प्रविधिको विकाससँगै पछिल्लो समय आफू जुनसुकै ठाउँमा भए पनि सेयर कारोबार गर्न सकिने भएपछि लगानीकर्ता थप हौसिएका हुन्। बजार बढ्न थालेपछि लगानीकर्ताहरु बजार रणनीति बनाउनमा व्यस्त देखिन्छन्। अल्पकालीन र दीर्घकालीन लगानीका लागि लगानीकर्ताहरुले कम्पनीको छनौट फरक–फरक तरिकाबाट गर्दछन्। 

विगत लामो समयदेखि कारोबार गरेका अनुभवी र बजारमा विभिन्न किसिमका उतारचढाव भोगेका लगानीकर्ता हिजोआज ब्रोकर हाउस आउनुको सट्टा घरबाटै अनलाइन माध्यमबाट सेयर कारोबार गर्न थालेका छन्। ब्रोकर हाउसमा हिजोआज भेटिनेमा प्रायः नयाँ लगानीकर्तामात्र छन्। 

नयाँ लगानीकर्ता पनि सोसल मिडियाका साथै ब्रोकर हाउस धाएरै भए पनि बजारका बारेमा नयाँ कुरा जान्न र सिक्न आतुर देखिन्छन्। ब्रोकर हाउसमा प्रायः धेरैजसो नयाँ लगानीकर्ता पुराना र अनुभवी लगानीकर्तासँगै बसेर बजार अनुभव बटुलिरहेका भेटिन्छन्। 

ब्रोकर हाउसमा जाने भनेको बजारबारे नयाँ कुरा जान्न र साथीभाइबीच लगानी रणनीति बनाउनमात्रै रहेको एक पुराना लगानीकर्ता बताउँछन्। ‘अहिले साथीभाइसँग बजारका विषयमा सामाजिक सञ्जाल र फोनबाटै कुराकानी र छलफल गर्न सकिन्छ’, ती लगानीकर्ताले भने, ‘कारोबार अनलाइनबाटै गर्न सकिन्छ। त्यसैले धेरै भयो ब्रोकर हाउस गएको छैन।’

ब्रोकर हाउसमा नयाँ लगानीकर्ताको भीड देखिनुमा उनीहरु बजारबारे बुझ्न र नयाँ साथीभाइ बनाउन पुगेको हुन सक्ने ती लगानीकर्ताको भनाइ छ। ‘अहिले बजारमा युवाको सक्रियता बढेको छ, उनीहरु बजारप्रति निकै उत्सुक छन्’, ती लगानीकर्ताले भने, ‘त्यसैले त्यस्ता लगानीकर्ताका लागि ब्रोकर हाउसहरु ज्ञानशाला बनेका छन्।’ 

एक नयाँ लगानीकर्ता पनि आफू बजारका विषयमा बुझ्न र सिक्न ब्रोकर हाउस धाउने गरेको बताउँछन्। ‘प्रायः कारोबार समयमा म ब्रोकर हाउसमै हुन्छ’, ती लगानीकर्ताले भने, ‘ब्रोकर हाउसमा आउँदा बजारका विषयमा धेरै कुरा थाहा हुन्छ, पुराना लगानीकर्ताको अनुभवबाट पनि सिक्ने मौका मिल्छ।’

पुराना लगानीकर्ता आधारभूत विश्लेषणमा दक्ष भए पनि प्राविधिक विश्लेषणमा भने अलि पछाडि परेको जस्तो देखिन्छ। प्राविधिक विश्लेषणमा भने नयाँ लगाानीकर्ताले तुलनात्मक रुपमा छिटो र धेरै ज्ञान हासिल गरेको देखिन्छ। 

भविष्यमा सेयर बजारको विकास र विस्तार हुने क्रममा अन्य देशमा जस्तै इन्ट्राडे कारोबार लागू भएको खण्डमा प्राविधिक विश्लेषणमा दक्ष लगानीकर्ताले भरपूर उपयोग गर्न सक्छन्। 

लगानीकर्ता बढ्दै जाँदा ब्रोकर हाउसहरुले पनि लगानीकर्ताको सहजता र सुविधाका लागि थप सेवाहरु प्रवाह गर्नुपर्ने पुराना लगानीकर्ताहरुको सुझाव छ। ‘ब्रोकर हाउस पछिल्लो समय नयाँ लगानीकर्तालाई पाठशालाजस्तै भएका छन्’, ती लगानीकर्ताले भने, ‘त्यसैले ब्रोकर हाउसहरुले थप सेवासुविधा ल्याएर लगानीकर्तालाई आकर्षित गर्नुपर्छ। यसका साथै लगानीकर्तालाई सेयर बजारसम्बन्धी ज्ञान दिन बेला–बेला सचेतनामूलक कार्यक्रम पनि गर्नुपर्छ।’