काठमाण्डौ । बित्तीय रुपमा समस्याग्रस्त र पिण्डरोगी भई कुनै बेला घाटमा पुगेको नेपाल बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ को अन्तमसम्ममा वाणिज्य बैंकहरुको सूचिमा आफूलाई अग्रस्थानमा उभ्याउने ऐतिहासिक सफलता हात पारेको छ । नेपाल बैंक लिमीटेड र यसको सेयर भन्ने बित्तिकै नाक खुम्च्याउनेहरुले पछिल्लो समय अन्य संस्थालाई छाडेर यही कम्पनीको सेयर खरीदमा मरिहत्ते गर्न थालेका छन् । 

देवेन्द्रप्रताप शाहले प्रमुख कार्यकारी अधिकृतको रुपमा व्यवस्थापन सम्हालेपछि घाटमा पुगिसकेको नेपाल बैंकमा प्राण भरिएको देखिएको छ । राष्ट्रबैंकको तीव्र सुधारात्मक कारबाहीमा पर्नै लागे पनि शाह नेतृत्वको टिमले नेपाल बैंकलाई प्राय सबै आर्थिक सूचकहरुमा तीव्र सुधार गरिदिएको छ । जसका कारण आर्थिक वर्ष २०७२/७३ मा यो बैंकले अपत्यारिलो छलाङ मारेको देखिएको छ । 

आर्थिक वर्ष २०७२/७३ को अन्तमा पहिलो पटक नेपाल बैंकको पूजी पर्याप्तता अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम बिन्दुभन्दा माथि पुगेको हो । 

कुन सूचकमा कस्तो प्रगति ?
यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा रु ३ अर्ब १ करोड खुद मुनाफा आर्जन गरेको छ, जुन नेपालका बैंकहरुले गत आर्थिक बर्षमा कमाएको नाफामध्ये सबैभन्दा धेरै हो । 

बैंकको ब्यालेन्स सिट सुधार गर्ने क्रममा नाफा बढाउन परेको र यसको लागि राष्ट्र बैंकको स्वीकृति लिएर गत वर्ष आफ्नो स्वामित्वमा रहेको केही सम्पत्ति पनि बिक्री गर्नुपरेको प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले बिजशालालाई बताए । उनका अनुसार आर्थिक बर्ष ०७१।७२ मा बैंकको खूद नाफा ४८ करोडमा सीमित थियो । 

नाफा मात्र नभई आर्थिक वर्ष  ०७२।७३ मा बैंकका अन्य वित्तिय सूचकहरु पनि सकारात्मक बनेका छन् । सञ्चालन मुनाफा आर्थिक वर्ष ०७१।७२ मा रु ३६ करोड रहेकोमा यस बर्ष रु २ अर्ब २१ करोड पुगेको छ । यसरी खुद मुनाफा र संचालन मुनाफा दुवैमा बैंकले ६ गुणाले छलाङ मारिदिएको छ । करिब ३ दशकदेखि ऋणात्मक रहेको नेपाल बैंकको जगेडा कोष आर्थिक वर्ष  ०७२।७३ को अन्तमा पहिलोपटक ३८ करोडले धनात्मक भएको छ । 

यसैगरी, अघिल्लो वर्षमा रु ७८ अर्बमा रहेको निक्षेप गत असार मसान्तमा रु ८९ अर्ब पुगेको छ भनेकर्जा रु ५३ अर्बबाट ६३ अर्बमा उक्लिएको छ । बैंकको खुद व्याज आम्दानीमा ४२ प्रतिशतको वृद्धि हासिल भएको छ । गत वर्ष रु ३ अर्ब ३१ करोडमा सीमित रहेका ब्याज आम्दानी बढेर यो वर्ष ४ अर्ब ६९ करोड पुगेको छ । खूद ब्याज आम्दानी बढ्नु भनेको बैंकले विजिनेशको दायरामा समेत फड्को मारेको स्पष्ट संकेत हो । 

२०५० को दशकमा सुशासनको अभावका कारण बैंकको निष्कृय कर्जा बढेर ६० प्रतिशतको हाराहारीमा पुगेको थियो । निस्क्रिय कर्जा बढ्दै गएमा बैंकको अस्तित्व नै समाप्त हुने खतरा बढ्छ । यो बैंक करिब करिब त्यो बिन्दुमा पुगेर फर्केको हो ।

कर्मचारी खर्च आर्थिक वर्ष  ०७१।७२ मा रु २ अर्ब ४१ करोड भएकोमा गत बर्ष यो खर्च रु २ अर्ब १८ करोडमा झरेको देखिएको छ । कोषको लागत समेत २ दशमलव ३३ प्रतिशतबाट १ दशमलव ९८ प्रतिशतमा घटाउन आफूहरु सक्षम बनेको सीइओ शाहले जानकारी दिए । 

पूँजी पर्याप्तता ११ प्रतिशत माथि !
राष्ट्र बैंकले निकै महत्वका साथ हेर्ने गरेको यो बैंकको पूँजी पर्याप्तताको अनुपात ११ दशमलव ४१ प्रतिशत पुगेको बैंकले जनाएको छ । यसअघिको वर्षमा यो अनुपात ७ दशमलव ५ प्रतिशतमा सीमित थियो । यो अनुपात १० प्रतिशतभन्दा कम भएका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कार्यवाही गर्नसक्ने कानूनी व्यवस्था छ ।

शाहका अनुसार नेपाल बैंकलाई यस्तो कारबाही गर्ने निर्णयमा पुग्न लागेको चेतावनी बेला–बेलामा राष्ट्र बैंकले दिंदै आएको थियो । ‘नियमनकारी निकायबाट बारम्बार सचेत गराउँदै आएकोले पूँजी पर्याप्तता अनुपात बढाउन गत बर्ष बैंकले कडा मेहेनत गर्न पर्यो ।’ सीइओ शाहले भने–‘सम्पति बिक्री गर्न परेको प्रमुख कारण पनि यही हो ।’ उनका अनुसार आर्थिक वर्ष २०७२/७३ को अन्तमा पहिलो पटक नेपाल बैंकको पूजी पर्याप्तता अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम बिन्दुभन्दा माथि पुगेको हो । 

घट्यो निस्क्रिय कर्जा
बैंकको निस्क्रिय कर्जा अनुपात २ दशमलव ७२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यो अनुपात ३ दशमलव ९८ प्रतिशत थियो । 

आर्थिक वर्ष ०७१।७२ मा करिब रु ६७ करोड पुरानो ऋण असुली भएकोमा आर्थिक बर्ष ०७२।७३ मा रु १ अर्ब ३५ करोड असुल भएको बताइएको छ । 

साझा यातायातसँगको सहकार्यमा बस यात्रुहरुलाई इ–टिकटको व्यबस्थाको सम्झौता समेत भइसकेको छ, यो कामको थालनी समेत निकट भविष्यमै हुने शाहको स्पष्टोक्ति छ । यस ब्यबस्था अन्तर्गत नेपालमा पहिलो पटक इलेक्ट्रोनिक कार्डबाट बस शुल्क तिर्ने सुविधा सर्वसाधारणले पाउने छन् । 

शाहका अनुसार २०५० को दशकमा सुशासनको अभावका कारण बैंकको निष्कृय कर्जा बढेर ६० प्रतिशतको हाराहारीमा पुगेको थियो । ‘निस्क्रिय कर्जा बढ्दै गएमा बैंकको अस्तित्व नै समाप्त हुने खतरा बढ्छ ।’ शाहले भने–‘यो बैंक करिब करिब त्यो बिन्दुमा पुगेर फर्केको हो ।’

भयावह अवस्था भएकै कारण यो बैंकलाई त्यतिबेला समस्याग्रस्त घोषणा गरी राष्ट्रबैंकले आफ्नो नियन्त्रणमा लिएको थियो । त्यही समयमा वित्तिय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नेपाल बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले विदेशी फर्मलाई समेत सुम्पिएको थियो । यति हुँदा समेत नेपाल बैंक बित्तीय रुपमा स्वस्थ हुन सकेको थिएन । 

बैंकको चुक्ता पूँजी रु ६ अर्ब ४६ करोड रहेकोमा यसै आर्थिक बर्षमा २३ दशमलव ७३ प्रतिशतले हकप्रद शेयर निश्कासन गर्ने र राष्ट्र बैंकले तोके अनुसार समयमै ८ अर्ब पुर्याउने लक्ष्य रहेको समेत सीइओ शाहले खुलाए । 

हाल यो बैंकको सेयर पूँजी संरचनामा नेपाल सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत हिस्सा रहेको छ । 

हाल नेपाल बैंकको देशभर १ सय २६ शाखा र ३९ एटिएम काउण्टरहरु संचालनमा छन् । बैंकको ११ लाखभन्दा बढी निक्षेपकर्ता र ९५ हजार भन्दा बढी कर्जाका ग्राहकहरु छन् । 

दुईवटा सफ्टवेरबाट आफ्नो सेवा संचालन गर्दै आएको यस बैंकले हालै एउटै सफ्टवेयर ‘सेन्ट्रलाइज्ड पुमरी ४’ इन्स्टल गरी ग्राहकहरुलाई अत्याधुनिक सेवा दिने प्रयास गरेको छ । दुईवटा सफ्टवेयरको समस्या अन्त गरी बैंकलाई एउटै सिस्टमबाट संचालन गर्ने एजेण्डा शाहले सीइओमा नियुक्ति हुँदै गर्दा पनि सार्वजनिक गरेका थिए । 

यो बैंकले स्मार्ट बैंकिङ्ग योजना लागू गर्न पूर्वाधार तयार गरी स्वीकृतिको लागि राष्ट्रबैंकमा पठाएको जनाएको छ । स्वीकृति आएपछि ग्राहकहरुले आफ्नो खाताको ब्यालेन्स, चेकको भुक्तानी, खातामा पैसा जम्मा आदि मोबाइल फोनबाटै थाहा पाउने र रकम ट्रान्सफर समेत गर्न सक्ने सुबिधा उपलब्ध हुने बताइएको छ। 

आगामी दिनमा नाफा बढाउने समेत उद्देश्य लिएर अब उपयुक्त समयमा मर्चेन्ट बैंकिङ्ग, लघुवित्त कारोबार, म्युचल फण्ड आदी कारोबार गर्न सहायक कम्पनीको स्थापना गर्ने तर्फ पनि नेपाल बैंक लाग्नसक्नेछ । 

यसैगरी, यस बैंकले आगामी नोभेम्बर महिना भित्र ग्राहकहरुलाई भिसा कार्ड समेत उपलब्ध गराउन सुरु गर्ने शाहले जानकारी दिए । साझा यातायातसँगको सहकार्यमा बस यात्रुहरुलाई इ–टिकटको व्यबस्थाको सम्झौता समेत भइसकेको छ, यो कामको थालनी समेत निकट भविष्यमै हुने शाहको स्पष्टोक्ति छ । यस ब्यबस्था अन्तर्गत नेपालमा पहिलो पटक इलेक्ट्रोनिक कार्डबाट बस शुल्क तिर्ने सुविधा सर्वसाधारणले पाउने छन् । 

आगामी दिनमा बैंकले शाखा बिस्तारलाई समेत प्राथमिकतामा राखेको छ । सीइओ शाहका अनुसार राष्ट्र बैंकले तोके अनुसार यस बैंकको पूँजी पर्याप्तता अनुपात अब पुगेकोले शहर र गाउँमा नयाँ शाखा खोल्ने, सहायक कम्पनीहरु खडा गर्ने र सेकेण्डरी मार्केटमा लगानी गर्ने बाटो समेत खुलेको छ ।

उनका अनुसार आगामी दिनमा नाफा बढाउने समेत उद्देश्य लिएर अब उपयुक्त समयमा मर्चेन्ट बैंकिङ्ग, लघुवित्त कारोबार, म्युचल फण्ड आदी कारोबार गर्न सहायक कम्पनीको स्थापना गर्ने तर्फ पनि नेपाल बैंक लाग्नसक्नेछ । 

बैंकले आइतबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिजोसम्म अस्वस्थ रहेको बैंकलाई बित्तीय रुपमा स्वस्थ भएको औपचारिक घोषणा गरेको थियो ।