काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३१ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ७ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीले १४ अर्ब १६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६१.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च थोरै घटेर २ अर्ब १८ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २ खर्ब १९ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर १ खर्ब ३६ अर्ब रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा १ खर्ब १२ अर्ब रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब १६ करोड रुपैयाँ रहेको रिजर्भको आकार ७१.६३ प्रतिशतले घटेर २८ करोड ८३ लाख रुपैयाँमा झरेको छ।

चौथो त्रैमासमा कम्पनीले ३५ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या १४ लाख २१ हजार ८९७ पुगेको छ। अघिल्लो वर्ष यो संख्या १३ लाख ८१ हजार ४३३ रहेको थियो।

चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४.३० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १२.७५ रुपैयाँ रहेको थियो। पीई रेसियो १७३.८२ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ रहेको छ।