काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को आयोजनामा काठमाण्डौमा जारी २ दिने चौथो साकोस शिखर गोष्ठी २०७९ सम्पन्न भएको छ।

आइतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो। नेपाल सरकारको समेत सह आयोजना भएको गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गर्दै आज समापन भएको हो।

बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्पmत मर्यादित श्रम सिर्जना, गरिबी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित यो १२ बुँदे साझा घोषणापत्र गोष्ठीले गरेको छ।

‘दिगो एवम् एकीकृत सञ्जालका लागि नवीनतम साझा प्रविधि’ मूल भाव र संकल्पका साथ आयोजित गोष्ठीमा पाँचवटा सामूहिक र चारवटा ब्रेकआउट सत्रमा सञ्चालन भएको थियो। शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गरेका थिए। 

सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रवर्द्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताका लागि सामूहिक पैरवी गर्न गोष्ठीमा सहभागीहरुले प्रतिबद्ध जनाएका छन्। 

त्यस्तै एकीकृत सूचना प्रणाली कोपोमिसमा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न समेत सहकारी संस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन्।

सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवं व्यवस्थापनको लागि संस्थागत रुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्नसमेत उनीहरुले प्रतिबद्धता जनाएका छन्।

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी कानुन अनुसार १० करोडभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन समेत उनीहरु प्रतिबद्ध भएका छन्।

गोष्ठीको समापन गर्दै नेफ्स्कुनका कोषाध्यक्ष दीपक पनेरुले घोषणापत्रमा उल्लेख भएका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आह्वान गरे। जारी घोषण पत्रमा सहकारी संस्था, सरकारी निकाय, राजनीतिक दलहरुले समेत प्रतिबद्धता जनाएको समेत उनले बताए। 

सहकारी सहकारी सञ्चालन गर्न र सफल सहकारीकर्मी बन्न व्यवहार र विश्वास हुनुपर्नेसमेत पनेरुको धारणा थियो।