काठमाण्डौ । दोस्रो बजारको फ्रन्टलाइन रेगुलेटरका रुपमा रहेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत(सीइओ) चन्द्रसिंह साउदको ४ वर्षे कार्यकाल अब १ वर्षमात्र बाँकी छ ।

नेप्सेको अनलाइन कारोबार प्रणालीलाई भित्र्याएका सीइओ साउदले कार्यकालका धेरै समयमा तालीभन्दा पनि गाली खाए । बजार पारदर्शी बनाउन नचाहेका र देशका कुनाकाप्चामा लगानीकर्ताहरुको पहुँच दोस्रो बजारमा समेत पुग्न नदिने समूहले बेलाबेलामा नेप्सेमा उधुम नै मच्चाए, तर अनलाइन कारोबार प्रणालीले अपेक्षितभन्दा पनि अधिक सफलता हासिल गरिरहेको छ, जसको प्रभाव हिजोआज सेयर खरिदबिक्रीमा देखिन थालेको छ ।

नेप्सेमा सीइओ साउदका कार्यकाल, अनलाइन कारोबार प्रणाली र समयसामयिक विषयमा बिजशालाकर्मी भक्तराज रसाइलीले गरेको कुराकानीको सारसंक्षेप:

तपाईँले कार्यकालभरि तालीभन्दा पनि गाली धेरै खानुभयो । किन यस्तो भयो त ?
तपाईँले भनेझैं मैले तालीभन्दा गाली खाएको अवश्य हो । तत्कालीन बेला मैले अनलाइन कारोबार प्रणालीलाई सुचारु गर्ने बेलामा २ किसिमका व्यक्तिहरु थिए । एक पक्ष अनलाइन चाहने थिए भने अर्को पक्ष अनलाइन नचाहने । अनलाइन नचाहनेहरुले नै बितण्डा मच्चाएका र नेप्सेविरुद्ध सोझा लगानीकर्तालाई उचालेका मेरो बुझाइ हो । .यद्यपि त्यस्ता किसिमका टीकाटिप्पणीलाई म सामान्य रुपमा लिन्छु । सर्वसाधारणले जे बुझे त्यही गरे, तर मसँग आत्मविश्वास थियो कि म अनलाइन कारोबार प्रणाली सफल बनाइछाड्छु । ती टीकाटिप्पणीले प्रचारको काम गर्यो । यतिसम्म कि मलाई तत्कालीन बेलामा सम्बन्धित निकायहरुलाई समेत बुझाउन अप्ठ्यारो परेको थियो।

नेप्सेले अनलाइन कारोबार प्रणाली भित्र्याएको २ वर्षमा नै लगानीकर्ताको उल्लेख्य सहभागिता देखियो र कारोबार रकमसमेत उचालिँदै गइरहेको देखिन्छ । अनलाइन कारोबार प्रणाली सफल हुनुको श्रेय कसलाई जान्छ ?
विभिन्न अवरोधका बीच हामी(नेप्से)ले २०७५ कात्तिक २० गते अनलाइन कारोबार प्रणाली सुरु गर्यौं । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले समेत मलाई ठूलो सहयोग गर्नुभयो । एनसीएचएलको सुरुवात गर्दा सुरुमा ठूलो विरोध आएको उदाहरण दिँदै समस्या विस्तारै समाधान गर्दै जाने उहाँको निर्देशनले मलाई थप प्रेरित गर्यो । सम्पूर्ण लगानीकर्ता, ब्रोकर, नियामक सेबोन, मिडियालगायतले ठूलो भूमिका र सहयोग गरिदिएका कारण समेत अनलाइन सफल भयो । यस्तै हाम्रो नेप्सेको आइटी टिम र वाइको प्रालि अहोरात्र खटेर नै अनलाइन कारोबार प्रणालीलाई सशक्त बनाउनु भएको छ ।

अनलाइन कारोबार प्रणालीको पछिल्लो अवस्था के छ ?
हाल ब्रोकरबाट अनलाइन लगइन युजर र पासवर्ड लिनेको संख्या १ लाख ६९ हजार ४१६ पुगेको छ । अहिले ८० प्रतिशतभन्दा बढी सेयर खरिदबिक्रीको अर्डर अनलाइनबाट भइरहेको छ । कुल ग्राहकमध्ये ८८ प्रतिशत अनलाइन कारोबार प्रणालीमा समाहित छन् जसका लागि आम लगानीकर्ताहरुप्रति म कृतज्ञ छु ।

नेप्सेमा तपाईँको ४ वर्षे कार्यकालमध्ये अब १ वर्ष बाँकी छ। विगत ३ वर्षमा तपाईँको नेतृत्वमा नेप्सेमा के कस्ता कामहरु भए?
म आउँदा नेप्सेमा ५ वटा उपसूचकांक थिए । अहिले हामीले १२ वटा उपसूचकांक बनायौं ताकि सूचकांकको अध्ययन बृहत भई लगानी निर्णयमा सघाउ पुगोस् । सूचीकरण र सुपरीवेक्षणसम्बन्धी विनियमावली बनायौं । डिम्याट इण्टीग्रेसन र एनसीएचएल इण्टीग्रेसनसमेत गरेका छौं । पहिले ब्रोकर कम्पनीहरुका आरडब्लूएस(रिमोर्ट वर्कस्टेशन)लाई शाखामा परिणत गर्ने निर्णय भयो । नेप्सेमा सूचीकृत कम्पनीहरुले आफ्ना सूचना तथा जानकारी स्वयम् नेप्सेको वेबसाइटमा अपलोड गर्ने व्यवस्था भएपछि बजार थप पारदर्शी भइरहेको छ ।

एक वर्षको कार्यकाल बाँकी छ, यो अवधिमा के के गर्ने योजना बनाउनुभएको छ ?
अब मेरो कार्यकालको छोटो समय बाँकी छँदा अनलाइन कारोबार प्रयोजनका लागि लगानीकर्तामैत्री मोबाइल एप ल्याउने योजना छ । नेप्सेको भौतिक पूर्वाधार, हार्डवेयर क्षमता समेत वृद्धि गर्ने हामी योजनामा छौं ।

तपाईँ अर्को कार्यकालका लागि इच्छुक हुनुहुन्छ ?
म एक कार्यकाल मात्र गर्छु । म बाहिर बसेर नै पूँजीबजारको शुभचिन्तक हुनेछु भने अन्य क्षेत्रमा तपाईँले मलाई पाउनुहुनेछ ।

अलिकति विवदास्पद विषय: जहिले पनि नेप्से र सेबोनको जुँगा लडाईँ चाहिँ किन हुन्छ ? सरकारको नै नेप्सेमाथि प्रत्यक्ष हस्तक्षेप छ भनिन्छ नि । नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको संस्था बनाउन के गर्नुपर्ला ?
सरकारको लगानी भएकाले प्रत्यक्ष अप्रत्यक्ष संरक्षण तथा नियन्त्रण हुनु स्वभाविक नै हो । तपाईँले भन्नु भएजस्तो नेप्से र सेबोनबीच द्वन्द्व हुँदै आइरहेको सत्य नै मान्नुपर्छ । सरकारकै दुवै निकायमा प्रत्यक्ष नियन्त्रण भएकाले समेत कहिलेकाहीँ द्वन्द्व हुन्छ ।

नेप्सेलाई अन्तर्राष्ट्रिय संस्था बनाउन संस्थाको पुर्नसंरचना अति आवश्यक छ । बिदेशी रणनीतिक साझेदार, योग्य सूचीकृत कम्पनीहरुको प्रवेश नेप्सेमा भएको खण्डमा संस्थाको सेवा प्रवाहमा तीव्रता आउनसक्छ ।

हाल दोस्रो बजार कति जिल्लामा पुगेको  छ ?
हाल दोस्रो बजार देशभर ७७ जिल्लाभरि नै पुगेको छ ।

बजारको आकार बढ्दो छ । हाल ५० ब्रोकर मात्र पर्याप्त छैनन् भन्ने आवाजहरु गुञ्जिन थालेका छन् र यस विषयमा तपाईँको धारणा के छ ? ब्रोकर कम्पनीहरुले प्रोफेसनल सेवा दिएनन भन्ने गुनासो बारे तपाईँको प्रतिक्रिया के छ ?
बजारको आवाज सही हो । अहिलेको ५० ब्रोकर कम्पनी पर्याप्त छैनन् । पछिल्लो परिवेश अनुसार नेपालमा १०० ब्रोकर कम्पनी चाहिन्छ । ब्रोकर कम्पनीको क्षमता र पूँजी पनि बढाउनु पर्छ । ब्रोकर कम्पनीलाई संस्थागत बनाउन र सशक्तीकरण गर्न अति आवश्यक छ। संस्थागत ब्रोकरले मात्र आम लगानीकर्ताहरुलाई चुस्तदुरुस्त र प्रभावकारी सेवा दिनसक्छन् जसबाट लगानीकर्ताहरुलाई सहज हुनेछ।

कुल ग्राहक संख्या दोस्रो बजारमा करिब ४ लाख हाराहारी हुनु र अनलाइन कारोबारी करिब पौने २ लाख प्रयोगकर्ता पुगिसकेको तथ्यांक छ । अब सेयर बजार के होला ?
दैनिक कारोबार ४ अर्ब रुपैयाँ बढी हुनुमा अनलाइन कारोबार प्रणालीलाई पनि श्रेय जान्छ । देशका कुनाकाप्चा र घरबाटै सहजै सेयर किनबेचको वातावरण समेत बन्यो । अहिले लगानीकर्ताको बढ्दो संख्यालाई अनलाइन कारोबार नआएको भए ब्रोकर कम्पनीले धान्नै सक्दैन थिए । ब्रोकरले अर्डरसमेत राख्न असमर्थ हुन्थे ।

केही समयअघि बजारमा सेयरको आपूर्ति अधिक र माग कम थियो तर अहिले अवस्था ठ्याक्कै विपरीत छ । अहिले अधिक माग र कम आपूर्ति रहेको सेयरबजार सुधार हुने मेरो दाबी छ । कोरिया, जापान, अष्ट्रेलिया, दुबई, युके लगायत बिदेशबाट समेत नेपालीहरुले सेयर कारोबारमा उल्लेख्य उपस्थिति जनाइरहनु भएको देखिन्छ । यो त केबल प्रविधिको सुरुवाती परिणाम हो ।