– अनन्त्य सुन्दर

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार प्रकरणपछि सेयर बजारका नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वविहीन बन्न पुगेका छन्। सेबोन र नेप्सेका नेतृत्व नै यो प्रकरण मुछिएपछि दुवै निकाय नेतृत्वविहीन बन्न पुगेका हुन्। 

सरकारले हिजोमात्र सेबोनका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बित गरेको छ। केही समयअघि अनुसन्धानमा सहयोग गर्न भन्दै चन्द्रसिंह साउदले नेप्सेको सीईओबाट राजीनामा दिएका थिए।

यी नियामक निकायको नेतृत्व अब कसले गर्छ ? भन्ने अहिले आमलगानीकर्ताको चासोको विषय बनेको छ।

विशेषगरी अब सेबोनको अध्यक्ष को हुन्छ? भन्नेमा क्लब हाउस, फेसबुक, भाइबरलगायत अन्य थुप्रै सामाजिक सञ्जाल बहस र छलफलले तातेको छ। लगानीकर्ताको छलफलको केन्द्रमा रहेको नाम हो ‘चन्द्रसिंह साउद’। 

सर्वोत्तम प्रकरणमा मुछिए पनि साउदलाई सेबोनको अध्यक्षमा नियुक्ति गर्नुपर्छ भन्ने लगानीकर्ताको संख्या धेरै नै छ। ‘अहिले सेयर बजारमा कारोबार गर्न धेरै सहज भएको छ।  लगानीकर्ताको हात–हातमा टीएमएस पुर्याउने साउद नै हुन् ?’, एक लगानीकर्ताले भने। 

‘सर्वोत्तम प्रकरणमा मुछिएका कारण नै साउदको नियति र क्षमतामा प्रश्न गर्न मिल्दैन। सेबोनले ५१ वटा कम्पनीको सूची निकाल्दा बोल्ने तिनै साउद थिए। त्यसैले सेबोनको अध्यक्षमा साउदको नियुक्ति भएमा बजारमा थप सुधार हुनेमा ढुक्क छु’, अर्का लगानीकर्ताले भने।

सर्वोत्तम प्रकरणमा मुछिएका साउदलाई सेबोनको अध्यक्षमा नियुक्ति गर्नु हुँदैन भन्नेको संख्या पनि कम भने चाहिँ छैन। ‘उनको नाम सर्वोत्तम प्रकरणमा जोडिसकेको छ। अब त्यस्तो नियत भएको व्यक्तिलाई कसरी सेबोनको नेतृत्व हस्तान्तरण गर्न सकिन्छ?’ एक लगानीकर्ताले प्रश्न गर्दै भने।

चन्द्रसिंह साउद भने सरकारले सेबोनको नेतृत्व गर्न आफूलाई जिम्मा दिए नेतृत्व गर्न तयार भएको बताए। ‘कांग्रेस, एमाले, माओवादी जसको सरकार भए पनि मलाई सेबोनको नेतृत्व गर्ने जिम्मा दिएमा म अहिले पनि नेतृत्व गर्न तयार छु’, उनले भने, ‘म नेपालको पुँजीबजार विकास र विस्तारका लागि क्लियर भिजन साथ अघि बढेको थिए। तर सर्वोत्तम प्रकरणमा म पनि मुछिन पुगेँ। त्यसैले आफ्नो नैतिकताका कारण मैले राजीनामा दिएँ। तर अहिले पनि मसँग पुँजीबजार विकासका लागि विस्तृत योजना छन्। म नेप्सेमा हुँदा गरेको पुँजीबजारको विकासका लागि गरेको कामबारे लगानीकर्ता अवगत नै हुनुहुन्छ।’ 

नेप्सेमा पुँजीबजार विस्तार र विकासका लागि फ्युचर, डेरिभेटिभ, अक्सन, कमोडिटीलगायत अन्य बजारहरूको अध्ययन हुनुका साथै कतिपय बजारको योजना पनि बनिसकेको साउनले बताए। ‘सेबोनमा मेरो नियुक्ति भएमा यी बजारहरू विस्तार प्राथमिकतामा राखेर काम गर्छु’, उनले भने, ‘म आफ्नो व्यक्तिगत फाइदाभन्दा पनि समग्र बजारको हितमा काम गर्छु। बजारमा नीति र नियममा पनि सुधार आवश्यक छ। त्यसैले त्यसमा काम गर्न अत्यावश्यक छ।’

साउद भन्छन्, ‘लगानीकर्ताहरुले ब्रोकर थप्नुपर्ने कुराको वकालत बेलाबखतमा गर्दै आउनुभएको छ। त्यसैले मेरो नियुक्ति भएमा ब्रोकर संख्या थप्नुका साथै भएका ब्रोकरहरुलाई पोर्टफोलियो म्यानेजमेन्टलगायत अन्य सुविधाहरू दिने दायरा बढाउने कार्य शीघ्र अगाडि बढाउँछु।’