काठमाण्डौ । नेपाल धितो पत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि १२ जना आकांक्षीको आवेदन परेको छ। 

सेबोनको अध्यक्ष पदमा नेपाल स्कट एक्सचेन्ज (नेप्से) को सीईओबाट राजीनामा दिएका चन्द्रसिंह साउदको पनि आवेदन पर्ने आमलगानीकर्ताले अपेक्षा गरेका थिए। सर्वोत्तमको सेयरको भित्री कारोबार प्रकरणमा आफ्नो नाम पनि मुछिएसँगै सीईओको पदबाट राजीनामा दिएका साउदले सेबोन अध्यक्षको पद लगभग निश्चित भएको जानकारहरु बताउँदै आएका थिए। तर, उनले सेबोनको अध्यक्ष पदमा आवेदन दिएनन्।

बजारका सक्रिय लगानीकर्ता दुर्गा घिमिरे सेबोनको अध्यक्ष पदमा साउदको आवेदन नपरेकोले आफू अचम्मित भएको बताउँछन्। ‘सेबोनको अध्यक्षको कोटा कांग्रेसको भागमा परेको सुनिन्छ। साउदको नियुक्ति लगभग निश्चित देखिन्थ्यो’, उनी भन्छन्।

बजारका अर्का लगानीकर्ता सेबोनको अध्यक्षका लागि चन्द्रसिंह साउदजस्तो योग्य व्यक्ति अरु कोही नभएको बताउँछन्। ‘साउदले बजारका लागि धेरै काम गरेका थिए। उनी आएको भए नेपालको पुँजी बजार अर्को उचाइमा पुग्थ्यो’, उनले भने।

अहिले परिस्थिति अलि भिन्न रहेकोले आफूले सेबोनको अध्यक्ष पदमा आवेदन नदिएको साउद बताउँछन्। ‘अहिले सेबोनको अध्यक्षको कार्यकाल दुई वर्षको मात्र हुन्छ। केही झमेलाहरु पनि छन्। भीष्मराज सर आफैँ पनि अदालत जाँदै हुनुहुन्छ’, साउद भन्छन्, ‘त्यही भएर आवेदन नदिएको हुँ।’

आफू ४६ सालदेखि पुँजी बजारमा रहेको उल्लेख गर्दै साउदले भविष्यमा पनि बजारमै रहने बताउँछन्। ‘तर कुन निकायमा हुन्छु भन्ने केही समयपछि थाहा भई हाल्छ।’