काठमाण्डौ। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठनका बारेमा ट्विटरमा जानकारी दिएका छन्।

यस सम्बन्धमा राष्ट्रपति राजापाक्षेले ट्विट गर्दै भनेका छन्, ‘देशमा अराजकताको अवस्थालाई नियन्त्रण गर्न र रोकिएका मुद्दा समाधान गर्न नयाँ सरकार गठनका लागि पहल गरिनेछ। यसै साताभित्र संसदमा बहुमत भएको र जनताको विश्वास जित्न सक्ने प्रधानमन्त्री नियुक्त गरिनेछ।’

गोटबायाले ट्विट गर्दै भनेका छन्, ‘नयाँ सरकारलाई नयाँ कार्यक्रम प्रस्तुत गर्ने मौका दिइनेछ र देशलाई आफ्नो नीतिका साथ अगाडि बढाउने अधिकार दिइनेछ। यसबाहेक संसदलाई थप सशक्त बनाउन संविधान संशोधनको पहल गरिनेछ। साथै, कार्यकारी अध्यक्षको पद खारेज गर्ने सुझावमाथि पनि विचार गरिनेछ।’

यस सम्बन्धमा गोटाबायाले आफ्नो अन्तिम ट्विटमा लेखेका छन्, ‘जनताको जीवन र सम्पत्तिको सुरक्षाका लागि तपाइँहरु सबैलाई सहयोग गर्न म विनम्र अनुरोध गर्दछु।’

राष्ट्रपति गोटाबायाको यो ट्विट श्रीलंकाले गम्भीर चुनौतीको सामना गरिरहेको बेला आएको हो। श्रीलंका पहिलेदेखि नै आर्थिक संकटमा गुज्रिरहेको भए पनि सोमबार देशका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि मुलुक पनि राजनीतिक संकटमा गुज्रिरहेको छ।

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा सरकारविरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ। देशैभरि भइरहेको हिंसात्मक घटनाका क्रममा गोली प्रहारबाट वर्तमान सांसदसहित पाँचजनाको ज्यान गएको छ।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिनु एक्कासि भने होइन। यसको अनुमान धेरै पहिलेदेखि नै भइरहेको थियो। 

राष्ट्रपति गोटाबायाले महिन्दालाई राजीनामा दिन आग्रह गरेका थिए। –एजेन्सी