काठमाण्डौ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै काठमाण्डौमा आज बिहीबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अर्को आदेश नभएसम्मका लागि आज राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेको हो। आदेशमा अनावश्यक रूपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव गर्ने, भोज आदिमा रोक लगाएको छ। 

सर्वसाधारणलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, समयसमयमा साबुनपानी हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गरिएको छ। चाडपर्वमा मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा सकेसम्म घरभित्रै परिवारका व्यक्तिहरुमात्रै सामेल हुने गरी मनाउन आदेश दिइएको छ। 

यसैगरी काठमाण्डौ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश दिइएको छ। सबै यात्रुलाई अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ। मास्क नलगाई यात्रुलाई प्रवेश नदिन पनि निर्देशन दिइएको छ। 

चालक र सहचालक अनिवार्य रुपमा मास्क, भाइजर र पन्जा लगाउनुपर्ने तथा सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने भनिएको छ। सवारीसाधनहरु अनिवार्य रुपमा दैनिक स्यानिटाइज गर्नुपर्नेछ।