काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वका अवसरमा मागअनुसारको अत्यावश्यक वस्तु आयातको सहमति उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। नजिकिँदो चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गरी कार्टेलिङ प्रणालीलाई निरुत्साहित गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन र सहुलियत मूल्यमा बिक्रीवितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार छुटका लागि अर्थ मन्त्रालयमा सहमति माग गरिएकोमा बजारको मागअनुसार परिमाण सहमति प्राप्त नभएकोमा समितिको ध्यानाकर्षण भएको छ। अतः आपूर्ति मन्त्रालयबाट माग भएअनुसार मूल्य अभिवृद्धि कर पूरै छुटमा र १ प्रतिशत भन्सार महसुललिने गरी आयातको सहमति उपलब्ध गराउन अर्थ मन्त्रालयलाई समितिले निर्देशन दिएको छ।
यसैगरी चाडपर्वको बेला कालोबजारी, गैरकानुनी भण्डारण र अस्वाभाविक मूल्यवृद्धिजस्ता अनियमित गतिविधि रोक्न उपभोग्य वस्तुहरुको बजार अनुगमन गर्ने कामका लागि पर्याप्त जनशक्ति र स्रोतसाधनको व्यवस्था गरी अनुगमन कार्यलाई तदारुकता दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समितिले निर्देशन दिएको छ।
चाडपर्वका बेला सुपथ मूल्यका पसल खोली उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान उपलब्ध हुने व्यवस्था मिलाउन पनि समितिले आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ।
चाडपर्वका बेला हुने गैरकानुनी कानुनी क्रियाकलाप रोक्न अनुगमन कार्यका लागि आवश्यक कार्यविधि निर्माण गरी सभापतिको नेतृत्वमा समितिका ४ जना सदस्य र समिति सचिवालयका कर्मचारीहरुसहितको टोलीले अनुगमन गर्ने गरी आवश्यक व्यवस्था मिलाउनलाई समितिको आगामी बैठकमा पेस गर्ने निर्णय पनि भएको छ।
32 minutes ago
55 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago