काठमाण्डौ । कोरोना (कोभिड–१९) को महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट  १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनीया राजदूत छेनसोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गरेका थिए । 

चीनियाँ पर्यटकलाई विमानस्थलमै खादा माला सहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो ।

पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनीयाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । 

यस्तै मन्त्री र राजदूच सोङबीच विमानस्थलमै भएको भेटवार्ताका क्रममा मन्त्री किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरेका थिए । 

राजदूत संगले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाईको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासका लागि चिन सधैं सकारात्मक रहेको बताए । उनले कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने पनि बताए । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने विश्वास व्यक्त गरे । उनले नेपाल चीन सीमानाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनीयाँ राजदूतसमक्ष आग्रह समेत गरे । 

बिहीबार हिमालय एअरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडानबाट १८० जना चिनियाँ पर्यटकहरू अवतरण गरेका र  आगामी चार्टर्ड उडानहरूमार्फत् थप ७०० यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले बताए ।