काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेका थप दुईवटा वाणिज्य बैंकसहित चारवटा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डौ, नेसनल माइक्रोफाइनान्स र नाडेप लघुवित्तको सेयर कारोबार फुकुवा भएको हो। अब भोलि बुधबारबाट यी चारवटै बैंक तथा वित्तीय संस्थाको सेयर कारोबारमा आउनेछ। 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डौबीच मर्जरको प्रारम्भिक सम्झौता भएपछि नेप्सेले दुवै बैंकको सेयर कारोबार गत असार २ गतेबाट रोक्का राखेको थियो। 

यसैगरी डिप्रोक्स लघुवित्तसँग मर्ज हुन लागेको नाडेपको २०७७ पुस १६ गतेबाट र समिट लघुवित्तसँग मर्जरका लागि नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार गत असोज २७ गतेबाट रोक्का गरिएको थियो। 

नेप्सेले यी बैंक तथा वित्तीय संस्थाको आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरेको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मर्जरसम्बन्धी कार्यविधिमा यो कार्यविधि लागू हुनुअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवा गर्ने बाटो खुलेको थियो। 

कार्यविधि आइसकेपछि हालसम्म मर्जर प्रयोजनका लागि रोक्का रहेका १७ वटा कम्पनीको सेयर कारोबार फुकुवा भइसकेको छ। अझै १८ वटा कम्पनीको सेयर कारोबार भने फुकुवा हुन बाँकी रहेको नेप्सेले जनाएको छ।