काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालुपुँजी कर्जा मार्गदर्शनमा केही न केही नीति ल्याउने संकेत गरेका छन्।
राष्ट्र बैंकमा आज नेपाल बैंकर्स संघ (एनबीए)का पदाधिकारीसँगको छोटो छलफलमा गभर्नर अधिकारीले यस्तो संकेत गरेका हुन्। छलफलमा एनबीएका कार्यवाहक अध्यक्ष सुनील केसीको नेतृत्वमा ५ जना बैंकर सहभागी भएका थिए।
आधा घन्टाजति गभर्नर अधिकारीसँग कुराकानी भएको छलफलमा सहभागी एक बैंकरले बताए। ‘हामीलाई आकस्मिक रुपमा बोलाइएको थियो’, ती बैंकरले भने, ‘चालुपुँजी कर्जा मार्गदर्शनकै विषयमा कुराकानी भयो। गभर्नरले हाम्रो धारणा बुझ्न खोज्नुभएको रहेछ। तर, हामीले यसअघि नै आफ्नो रायसुझाव दिइसकेका थियौँ।’
गभर्नर अधिकारीबाट पुसभित्रै चालुपुँजी कर्जामा मध्यमार्गी बाटो भएर कुनै नीति आउने संकेत भएको ती बैंकरले बताए। ‘केही न केही आउने गभर्नरबाट संकेत भएको छ तर निजी क्षेत्रले भनेजस्तै ठ्याक्कै नआउन पनि सक्छ’, ती बैंकरले भने।
छलफलमा गभर्नर अधिकारीले बैंकरहरुलाई चालुपुँजी कर्जामा निजी क्षेत्रको पनि धारणा बुझ्ने काम भइरहेको जानकारी दिएका थिए। ‘तपाइँहरुले चालुपुँजी कर्जा कार्यान्वयन गर्ने हो, त्यसैले तपाइँहरुको धारणा बुझ्न छलफलमा बोलाएका हौँ’, गभर्नर अधिकारीको भनाइ उद्धृत गर्दै ती बैंकरले भने।
चालुपुँजी कर्जा मार्गदर्शन लागू भएको २ महिना भइसकेको छ। यो क्रममा बैंकरहरुले भोगिरहेका समस्याहरुका विषयमा समेत गभर्नरले सोधेका थिए। योसँगै उनले समाधानका उपाय र यो मार्गदर्शनमा कस्ता–कस्ता प्रावधान राख्न बैंकहरुलाई कार्यान्वयन गर्न सजिलो हुन्छ भन्ने विषयमा समेत बैंकरहरुको धारणा मागेका थिए।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago