काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी) नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ। 

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेकोमा एडीबीले भने ४.१ प्रतिशतमात्र आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरेको हो। 

एडीबीले बुधबार सार्वजनिक गरेको प्रक्षेपणमा कोभिड संक्रमणको घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले यो आर्थिक वृद्धिमा सहयोग पुग्ने जनाइएको छ। नेपालमा जारी कोरोनाविरुद्धको खोप अभियानले विकासको गतिमा ठूलो समर्थन मिल्ने पनि एडीबीको ठहर छ। 

यो वर्ष अत्याधिक वर्षा भएका कारण कृषि उपज धानबालीले नेपालको जीडीपीमा योगदान गर्ने एडीबीको विश्वास छ। ‘पछिल्ला महिनामा निर्यात वृद्धि भएको तथ्यांक आएको छ । यसले घरेलु उत्पादन बढेको संकेत गरेको एडीबीले जनाएको छ। 

कोरोना महामारीका कारण प्रभावित क्षेत्रको पुनरुत्थान र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने सरकारको घोषणाले सकारात्मक प्रभावसमेत अर्थतन्त्रमा पर्ने एडीबीले जनाएको छ। खुद्रा व्यापार, यातायात र वित्तीय सेवामा भइरहेको चलायमान अवस्थाले समेत आर्थिक वृद्धिमा सघाउ पुग्ने एडीबीले प्रक्षेपण गरेको छ। 

पर्यटक आगमनमा ८० प्रतिशतभन्दा बढीको गिरावट आएकोमा चालु आवमा सुधार हुने अपेक्षा एडीबीको छ।