काठमाण्डौ । अनुप बिले दुई वर्षको छोराको खुत्रुके फुटाएर पैसा निकाल्दै गर्दा उनकी श्रीमती रिसाउँदै चिच्याएकी थिइन् । तर, श्रीमतीको रिसलाई बेवास्ता गर्दै अनुपले खुत्रुकेबाट निस्किएको ५० रुपैयाँ लिएर ओणम बम्पर लटरी (चिठ्ठा)को टिकट किने। त्यही चिठ्ठाले उनलाई आज २५ करोडको मालिक बनाएको छ। 

अनुपले भने, ‘उनी (श्रीमती) रिसाएर भनिरहेकी थिइन् कि चिठ्ठाको टिकटका लागि खुत्रुकी फुटाउनु ठीक होइन। तर, जब मलाई चिठ्ठा परेको थाहा भयो, मैले पत्याउनै सकिनँ। सुरुमा मेरी श्रीमतीले पनि पत्याइनन्। तर पछि उनी निकै खुसी भइन्।’

अनुपलाई यो चिठ्ठाको टिकट पाउन ५०० रुपैयाँ चाहिएको थियो। तर, ५० रुपैयाँले कम थियो। उनले त्यो ५० रुपैयाँ छोराको खुत्रुकी फुटाएर जोहो गरेका थिए। 

अनुपका अनुसार भोलिपल्ट चिठ्ठाको लक्कीड्र हुने भएकोले उनीसँग छोराको खुत्रुके फुटाउनुबाहेक अर्को विकल्प थिएन। तर, उनको यो कार्यले परिवारका लागि भाग्यको बाकस खोलेजस्तै साबित भयो।

अनुप एक अटो रिक्सा चालक हुन्। केरलाको राजधानी तिरुवनन्तपुरमका २९ वर्षीय अनुपमाथि लाखौँ रुपैयाँ ऋण छ। ‘म रेस्टुरेन्टमा काम गर्थें। केही समय दुबईमा पनि बसेँ’, उनले भने, ‘दुबईबाट फर्किएपछि यहाँ अटो रिक्सा चलाउन थालेँ। महिनामा २० देखि २५ हजार रुपैयाँ कमाउने गर्थें। तर, तीन महिनाअघि मैले काम छोडेको थिएँ।’

अटो रिक्सा चालक जागिर छोडेपछि अनुपले शेफको जागिर खोज्न थाले। उनले हालै मलेसियामा मासिक ५० हजार रुपैयाँको रोजगारी पनि पाएका छन् । उनी मलेसिया जाने तरखरमा छन्।

अनुपले स्थानीय बैंकमा ३ लाख रुपैयाँ ऋणका लागि निवेदन पनि दिएका थिए। ‘चिठ्ठा पर्नु एक दिनअघि बैंकको ऋण स्वीकृत भएको थियो। म अझै पैसा लिन बैंक गएको छैन’, खुसी हुँदै उनले भने। 

अनुपले पहिलोपटक चिठ्ठा किनेका भने होइन। उनी विगत ७ वर्षदेखि लगातार चिठ्ठाको टिकट किन्दै आएका छन्। यसअघि उनले २ हजारभन्दा बढी जित्ने मौका पाएका थिएनन् । उनले भने, ‘पहिले बेला–बेलामा मात्र चिठ्ठाको टिकट किन्ने गर्थें तर पछिल्ला केही वर्षदेखि नियमित टिकट किन्न थालेको छु।’

अनुपले सबैभन्दा पहिले ऋण तिर्ने योजना बनाएका छन्। उनीमाथि ५–६ लाख रुपैयाँ ऋण छ।
कर र चिठ्ठा एजेन्टको कमिसन तिपछि अनुपले १५.७५ करोड रुपैयाँ पाउनेछन्। अनुपले बाँकी पैसाले घर बनाउने, रेस्टुरेन्ट खोल्ने र अन्य केही काम गर्ने योजना बनाएका छन्। –एजेन्सी