काठमाण्डौ । चितवनको भरतपुरमा आउँदो माघ ५ गतेबाट पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८ हुने भएको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनी माघ ८ गतेसम्म सञ्चालन हुनेछ। नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएका छन्। प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्पखेती, व्यवसायिक तरकारीखेती र प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामग्री, बीउबिजन, आधुनिक सिँचाइलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने बताइएको छ। 

भरतपुरको चितवन एक्स्पो सेन्टरमा हुने प्रदर्शनीमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका बारेमा जानकारी गराइनेछ। कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्याउने प्रदर्शनीको उद्देश्य रहेको छ। 

प्रदर्शनीकर्ता १५० भन्दा बढी रहने प्रदर्शनीमा २० भन्दा बढी मुलुक र २०० भन्दा बढी प्रकारका उपकरण तथा प्रविधिहरु राखिनेछन्। प्रदर्शनी अवधिभर ७० जिल्लाबाट १ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा राखिएको छ। अनुमानित कारोबार २० करोड रुपैयाँ बढीको हुने बताइएको छ। 

प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रालि, प्रायोजकमा मुक्तिनाथ कृषि कम्पनी तथा सहप्रयोजकमा एनटीएस इन्डस्ट्रिज प्रालि, जीसेभेन एग्रिकल्चर प्रालि, एसकेटी नेपाल प्रालि, कुबेर एन्ड सन्स ट्रेड प्रालि, नेपाल चीन एग्रिकल्चर सेन्टर र बीटीएल ट्रेड प्रालि, नयाँ तुलसी ग्रुप र द हबी अटो ट्रेड्रिङ प्रालि रहेका छन्। 

यो प्रदर्शनीले नेपालको कृषिलाई यान्त्रीकरणमार्फत व्यवसायीकरण गरी प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणाली विकास गर्न सहयोगीसिद्ध हुने कुबेर एन्ड सन्स ट्रेडका सचिव जेपी घिमिरे बताउँछन्।