चितवन । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा चितवनस्थित नारायणी नदी किनारमा बुधबार सम्बोधन गरेका छन् । 

महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चितवनलाई पहिला ७६ औं जिल्लाको रुपमा लिइने गरिएको उल्लेख गर्दै यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भूमिका खेल्ने बताए । 

प्राचीन ऋषिहरुको तपस्यास्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्घन गर्न सकिने सम्भावना औंल्याउदै जंगली जनावरको मुख्य बासस्थान सौराहामा आउने विदेशी पर्यटकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरु जस्तैः नगरबन, मौलाकाली, देवघाटजस्ता क्षेत्रहरुमा सुविधासम्पन्न पर्यटकीय पूर्वाधारहरु जस्तैः जलमार्ग,  स्थलमार्ग, केबलकार र होटलहरुको निर्माण गरी समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्वपूर्ण योगदान दिनसक्ने बताए ।

चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरी यहाँका स्थानीय कृषकहरुको आर्यआर्जनलाई बढाउन सकिने भन्दै चितवन शिक्षाको हबको रुपमा समेत विकसित हुँदै गएकोमा प्रशन्नता व्यक्त गरे ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को प्रमुख अतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश नं ३ का मन्त्रीहरु, स्थानीय जनप्रतिनिधि, सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाल लगायत विभिन्न उद्योगी व्यवसायीहरुले पनि सम्बोधन गरेका थिए । 

पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन संचालन हुने १२ औं चितवन महोत्सवलाई आईएमई ग्रुप र ग्लोबल आईएमई बैंकले सह–प्रायोजन गरेका छन् ।