काठमाण्डौ । मानिसहरुको जिज्ञासु स्वभाव र मानव जगतको भलाई उन्नति र विकास गर्ने उत्कट चाहनाका कारण विज्ञान क्षेत्रमा तीव्र प्रगति देखिएको छ । विभिन्न वैज्ञानिक चमत्कारका कारण सामान्य रुपमा असम्भव जस्ता देखिने/सुनिने कुराहरु पनि सम्भव भएका छन् । अहिले चीनका वैज्ञानिहरुले पनि यस्तो गरेर देखाईदिएका छन् जसको बारेमा कल्पना गर्न समेत गाह्रो हुने गर्दछ । चीनका वैज्ञानिकहरुले भाले मुसाबाट बच्चा जन्माएर आश्चर्यलाग्दो सफलता हात पारेका हुन् ।

यद्यपि चिनिया वैज्ञानिकहरुको यो हर्कतलाई लिएर आलोचना समेत भइरहेको छ । चिनिया वैज्ञानिकहरुले भाले मुसालाई गर्भवती मात्रै बनाएनन्, त्यसबाट बच्चा समेत जन्माएर देखाईदिए । यसका लागि उनीहरुले कयौँ वर्षदेखि अनुसन्धान गरिरहेका थिए र अहिले आएर यो अनुन्धानको परिणाम देखिएको छ । 

संघाईको नोबेल मेडिकल यूनिर्भसिटीमा वैज्ञानिकहरुको एक समूहले यो अनुसन्धान गरेका थिए । वैज्ञानिकहरुले यो अनुसन्धानलाई चार चार चरणमा सम्पन्न गरेका थिए । जसलाई ‘र्याट मोडल’ नाम दिइएको छ । 

वैज्ञानिकहरुले सर्व्रप्रथम पोथी मुसाको शरीरबाट बच्चा बस्ने अंग(युटेरस)लाई बाहिर निकालिदिए । यसपश्चात त्यसलाई भाले मुसाको शरीरमा प्रत्यारोपण गरे । यो युटेरस ट्रान्सप्लान्ट पश्चात भाले मुसालाई गर्भवती बनाएर सिजेरियन माध्यमबाट बच्चा जन्माइयो । 

वैज्ञानिकहरुले सिजेरियन सेक्सन गर्नुअघि भु्रणलाई २१.५ दिनसम्म विकसित हुनका लागि छोडिदिएका थिए । मुसाको जन्मपश्चात वैज्ञानिकहरुको समूहले मुसामा सेपरेसन सर्जरी गरे मुसाका सबै बच्चाहरु अपरेशनको तीन महिनापश्चात जीवित रहन सक्छन् । 

द सनको रिपोर्टका अनुसार यसरी जन्माइएका बच्चाहरु बयस्क हुदाँसम्म पनि कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । तथापि वैज्ञानिकहरुले यस क्रममा केही सामान्य मृत भ्रुण पनि भेट्टाएका थिए । जुन सामान्य भु्रणका तुलनामा भिन्न आकार र रंगका थिए । 

आफ्नो शोधपत्रमा वैज्ञानिकहरुले यस्तो लेखेका छन्,‘पहिलो पटक भाले गर्भावस्थाको एउटा स्तनधारी जनावरको नमुना हामीले बनाएका छौँ । हाम्रो अनुसन्धानबाट भाले स्तनधारी जनावरमा सामान्य भु्रणको विकासको सम्भावनाका बारेमा पत्ता लागेको छ र यसको प्रजनन् जीव विज्ञानको अनुसन्धानमा गहिरो प्रभाव पर्न सक्छ ।’ 

उता पेटाका वरिष्ठ वैज्ञानिकहरु नीति सल्लाहकार एमिली म्याकइभरले यो अनुसन्धानको आलोचना गरेका छन् । उनले यो अनुसन्धानको आलोचना गर्दै जनावरहरुलाई अनुसन्धान गर्ने सस्तो वस्तुका रुपमा लिन नहुने बताएका छन् । ‘यो चमत्कारिक प्रयोग पूर्ण रुपमा जिज्ञासाबाट प्रेरित छ र यसले मानव प्रजनन् प्रणाली बारे जान्ने हाम्रो जिज्ञासालाई केही पनि बल पुर्याउँदैन ।’