काठमाण्डौ । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरु पुनः सुचारु गर्ने भएको छ।  

सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको ४ उडान गर्नेछ। सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समयअनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको २१ः०० बजे अवतरण गर्नेछ।

नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाण्डौदेखि मेलबर्नसम्म एकतर्फी भाडा रु.७९ हजार ९९९ र काठमाण्डौदेखि नारितासम्म एकतर्फी भाडा रु. ६५ हजार ९९९ रहेको कम्पनीले जनाएको छ। 

त्यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र ७ केजी  ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ। यो हवाईसेवाको सुरुआतसँगै मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अब चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ।

नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ।

यसका साथै नेपालमा सिचुवान एयरलाइन्सको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पुर्याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति सिचुवान एयरलाइन्स कृतज्ञता प्रकट गरेको छ।