संजोग कोइराला चार्टर्ड अकाउन्टेन्ट हुन्, नायक हुन् अनि व्यवसायी पनि हुन्।

अहिले चियाअड्डाको ब्रान्डबाट संजोगको परिचय चुलिँदो छ।

६ वर्षदेखि पूर्णतः व्यवसायमा लागेका संजोग विगत ३ वर्षदेखि भने जिन्दगीको ९० प्रतिशत समय फुड एन्ड बेभरेज इन्डस्ट्रीमा दिइरहेका छन्।

लकडाउनका बेला उनी यसलाई कसरी जीवन्त राख्ने, कसरी फैलाउने र जोगाउने भन्ने योजनामै व्यस्त भए। ‘मैले यो व्यवसायबाहेक फिल्म या अन्य काममा समय दिनुपर्यो भने म्याक्सिमम ७ दिन हो। एक महिना समय माग्नुभयो भने नमस्कार गर्ने हो। मेरा ७० भन्दा बढी स्टाफहरुका लागि भए पनि मैले अब आफ्नो रहर भनेर व्यवसायलाई छाड्न मिल्दैन’, संजोगले व्यवसायप्रतिको प्रतिबद्धता यसरी जाहेर गरे। 

संजोगका धेरै आउटलेटहरु छन्। आइसक्रिम र चियाअड्डाको। चितवन, पोखरा, केएल टावर, आइप्लेक्स मल, सिभिल मल, दरबारमार्ग र नयाँबानेश्वरमा भएका ९ वटा आउटलेट बन्द हुँदा उनलाई एकदम कठिन भएको थियो। अबको माहौल के होला ? भनेर सोच्दैछन् उनी ।

‘खुलिसकेपछि के हुन्छ ? जेपर्छ हेरौँला। अहिले टेक अवेका लागि मात्र रेस्टुराँ खुलेको छ। आइसक्रिमको सिजन नै गयो लकडाउन भएर’, उनी आफ्नो व्यवसायको भविष्य सोचिरहेका छन्।

‘चियाअड्डा एक्सपान्सनको फेजमा काम गर्दै थियौँ। ब्रेक नै लाग्यो’, संजोग भन्छन्, ‘आशावादी छु। निराश नै भएको छैन। तर सबैतिरबाट एकैचोटि ब्लक हुँदा चाहिँ धेरै नै लस भयो। ’ 

सप्तरीको राजविराजमा जन्मिएका संजोगको बाल्यकालदेखिको समय भने काठमाण्डौमा बित्यो। उनी सानैदेखि औसत विद्यार्थी थिए। भन्छन्, ‘त्यस्तो एक्स्ट्रा अर्डिनरी सर्टिफिकेट पाउने केही काम गरिनँ।’

एसएलसीमा राम्रो रिजल्ट आएको हुँदा साइन्स पढ्ने कि भनेर ब्रिजकोर्स चाहिँ गरे तर भर्ना गर्दा चाहिँ कमर्समा भयो। उनी भन्छन्, ‘साइन्समा न रुचि थियो न फिजिक्स–केमिस्ट्री दिमागमा घुस्ने। फ्युचर चाहिँ साइन्समा देखिनँ मैले।’

काठमाण्डौमा स्कुल लेभलको पढाइ सकाएपछि प्लस टु गर्दै थिए। त्यस क्रममा एउटा घट्ना घट्यो। त्यो घटनाले उनमा ईख पलायो। 

कान्छी दिदी पनि म्यानेजमेन्ट पढ्थिन्, त्यतिबेला। दिदीको ट्युसन क्लासमा उनी पनि बस्थे, टाइम पास गर्न। दिदीलाई ट्युसन पढाउन आउने शिक्षकले संजोगको रुचि र चासोलाई देखेर भने, ‘यो भाइको दिमाग राम्रो चल्छ। यो भाइलाई म्यानेजमेन्ट पढाउनूस्। सीए पढाउनूस्।’

तर एकजना नाता पर्ने हजुरबाले प्रतिक्रिया दिए, ‘यल्ले पढेर खाँदैन। मैले धेरै मान्छे देखेको छु सीए पढ्न गएको र बीचमै फर्केर आएको। यल्ले गर्दैन।’

अनि संजोगको दिमागको पारो चढ्यो। ‘म सीए पास गरेर देखाउँछु’ भनेर उनले ईख लिए। उनी सीए पढ्न इन्डिया गए।

दुःखद् कुरा चाहिँ सीएको तेस्रो वर्ष पढ्दै गर्दा उनै हजुरबाको निधन भयो। सीए पास गरेर देखाउनुपर्ने व्यक्तिको अवसान भयो। 

परिवार मुभी बिजनेसमा भएका कारण संजोग फिल्म उद्योगसँग नजिक थिए। तर व्यवसायसँग कतैबाट पनि साइनो थिएन। दाजु–दिदीहरु पनि डाक्टरी पेसामा थिए। उनलाई चाहिँ कहिले पनि त्यतातर्फ रुचि पलाएन।

आमा–बुबाको योजना थियो, संजोगलाई डेन्टिस्ट बनाउने। तर उनलाई मेडिकल क्षेत्रमा आउन पटक्कै मन थिएन।

पढाइपछि एउटा फिल्म चाहिँ खेल्नू भन्ने आमाको अभिलाषा थियो। अनि सीए पढेर फर्केपछि एक्टिङ क्लासहरु लिएर उनले आफूलाई तयार पारे। उनी सम्झिन्छन्, ‘त्यसपछि मैले ‘उत्सव’ भन्ने फिल्म खेलेँ। त्यो मुभीले कमर्सियल हिसाबबाट सफलता हात पारेन। अनि मलाई लाग्यो, म सीए अनि फिल्म पनि सोचेजस्तो सफल हुन सकिनँ। मेरा सर्कलका साथीहरु पनि डाक्टर हुन लागिसकेका थिए। आफूलाई इन्फेरियरिटी कम्प्लेक्स होलाजस्तो भयो। तँ के गरिरा छस् भनेर मनले आफैँलाई सोध्ने अवस्था भयो।’

एक दिन सीए पढ्दाको रुममेटले संजोगसमक्ष कन्स्ट्रक्सन कम्पनीको एउटा प्रपोजल ल्याए। संजोग भन्छन्, ‘मैले त्यसमा आबद्ध हुने निर्णय गरेँ। मेरो लगाव बुझेर नै उनले मलाई छानेका थिए।’ 

कम्पनीसँग छलफल गर्न संजोग इन्डिया गए। काम सुरु भयो। त्यो नै संजोगको पहिलो व्यवसाय थियो। ‘न आफू इन्टेरियर न आर्किटेक्ट तर पनि मैले आँट गरेँ। अनि विस्तारै–विस्तारै मार्केटिङ गर्दागर्दै व्यवसायमा तानिएँ’, संयोग स्मृति सुनाउँछन्, संजोग।

‘अवसर छ भने एककदम अघि बढेर हेर्नुपर्छ। कुनै कुरामा अलिकति पनि रुचि छ भने गरिहेर्नुपर्छ। म पनि त्यसरी नै लाग्दालाग्दै बिजनेस जर्नीमा लागेको हुँ’, संजोग भन्छन्, ‘काम गर्दागर्दै लविम मल, होटेल एम्बेस्डर, हिमालयन जाभालगायतका होटल अनि रेस्टुराँहरुको कन्स्ट्रक्सनको काम गर्यौँ।’

पछि त संजोगको कम्पनीले मानिसहरुको घर नै बनाउन थाल्यो। ‘एउटा सानो काम लिएर गयो, पछि त घरको धेरै काम थपिन थाल्यो’, उनी भन्छन्, ‘अनि इन्टेरियर डिजाइनरहरु हायर गरेर काम गर्न थाल्यौँ।’ 

सामग्री सप्लाईबाट सुरु गरेको कामको अनुभवले संजोगले आफ्नै कम्पनीबाट जिम्मा लिएर कामहरु गर्न थाले।

चियाअड्डाको सुरुआतको भने रोचक कथा छ।

संजोगको कम्पनीलाई एउटा क्याफे बनाउने काम आयो। युवाहरुकै काम थियो, त्यो। संजोग सुनाउँछन्, ‘हामीले बनाएको डिजाइन उनीहरुलाई मनपर्यो। तर कस्ट हाई भयो उनीहरुका लागि। अनि मैले भनेँ, अर्को डिजाइन बनाउँ न त। तर उनीहरुलाई डिजाइन चेञ्ज गर्न मन लागेन।’

उनीहरुले भने, ‘हाम्रो जति बजेट छ, त्यो हामी राख्छौँ। त्यसमा जति बजेट पुग्दैन, त्यतिमा एज अ पार्टनर बसिदिनूस् न।’

‘त्यो पनि आइपरेको लगानी। आफू पनि पोर्टफोलियो बनाइराखेको बेला, हुन्छ भनिदिएँ। पाटनमा थियो त्यो क्याफे’, क्याफेमा राम्रै आम्दानी हुनेरहेछ भनेर त्यतिबेला थाहा पाएका हुन्, संजोगले।

त्यसपछि ठमेलमा र न्यूरोडमा केटीएम क्याफे सुरु गरेका हुन्। पछि त्यो दुइटा क्याफे बेचेर ह्यासट्याग लाउञ्ज दरबारमार्गमा सुरु गरेका छन्।

बाहिर विदेशतिर घुम्न जाँदा पनि नेपालमा के गर्न सकिन्छ त भन्ने खोज्ने र सिक्ने गरिरहन्थे, संजोग। अचेल पनि कतै घुम्न जाँदा उनको ध्यान बिजनेसको आइडियामा नै हुन्छ।

आइसक्रिम कहानी सुनाउँदै संजोग भन्छन्, ‘दुबईमा जाँदा मान्छेहरुलाई आइसक्रिम टेस्ट गराइरहेको देखेँ। म सानैदेखिको आइसक्रिम लभर थिएँ। मानिसहरु स्कुप लिएर बस्दा म चाहिँ आधा लिटरको डब्बा लिई बस्थेँ। त्यहाँ पनि मैले आइसक्रिम चाखेँ।’

संजोगलाई एकदम मीठो लाग्यो र नेपालमा त्यसको बिजनेस ल्याउन मन लाग्यो। त्यसपछि उनले कम्पनीको मानिससँग भेटे र नेपालमा लैजानेबारे सल्लाह गरे। तर दुबईले पनि अमेरिकाबाट ल्याउने कुरा थाहा पाए।

अनि संजोगले अमेरिकाको कम्पनीलाई ई–मेल लेखे। कम्पनीले निम्तो गरेपछि उनी अमेरिका गए। संयोग कस्तो भयो भने पारिवारिक भ्रमण अमेरिकामा हुनै लागेको समय थियो, त्यो।

सिभिल मलमा सुरु गरेको धुँवा आउने आइसक्रिम चर्चामा आयो र व्यवसाय राम्रो भयो, बिनाप्रचार। ‘मैले गरिराखेको काम मेरो प्रोफेसन हो, फिल्म मेरो प्यासन हो’, प्यासन भएको चिजमा लाग्नेभन्दा प्रोफेसनलाई प्यासन बनाउने काम गरे उनले। ‘पैलेपैले मलाई लाग्थ्यो, म के गर्दैछु भन्ने’, संजोग सुनाउँछन्, ‘अहिले मेरो नाम यसैसँग जोडिएको छ, यसैलाई लिएर लाग्नुपर्छ।’ 

कुनै समय मुभीको अफर आउँदा यो छाडेर मुभीतिर लागौँ कि भन्ने पनि सोच आएको थियो, संजोगलाई। मुभीमा एक महिना लगानी गरेर जति आम्दानी हुन्थ्यो त्योभन्दा धेरै नै क्षति व्यवसायमा हुने देखेर उनले आफूलाई मुभीमा जानबाट रोके। ‘मेरो डिसिजनमा ७० प्लस कर्मचारीको जिन्दगी पनि छ, त्यसैले पनि आफ्नो प्यासनका लागि खेलवाड गर्न सकिनँ उनीहरुको जिन्दगीमा’, संजोग व्यवसायमा जिम्मेवारी बढी देख्छन्।

संजोगलाई एकै ठाउँमा भेटिन्न। उनी मल्टिपल काम गर्ने कुरामा विश्वास गर्छन्। त्यसो हुँदा एउटामा नाफा घटे अर्कोले थेग्छ भन्ने उनको सिकाइ छ।

दुइटा डुंगामा नटेक भन्ने मान्यता संजोग मान्दैनन्। एउटामात्र आम्दानीको स्रोतले सधैँ नपुग्न सक्छ। अलग–अलग कुरामा लगानी गर्ने उनको मान्यता छ। सेयर, स्टक मार्केट, खानेकुरा, निर्माण या यस्तै सम्भावनाका क्षेत्रहरुमा लगानी गरिरहेका छन्, उनी।

संजोग आफूले जानेका र सिकेका कुरालाई अरुमाझ बाँड्न रुचि राख्छन्। अहिले एउटा युट्युब च्यानल सुरु गरेका छन्, आइडियाप्रनर। लकडाउन सकिनेबित्तिकै उनले यो सुरु गरे। उनलाई लाग्छ, ‘नेपालमा केही गर्न सकिँदैन भन्नेहरुले मेरो अनुभव र आइडियाबाट ५ वटामात्र केही राम्रो गर्नसके भने त्यो बहुमूल्य काम हुन्छ।’

आइडियाप्रनरलाई एउटा संस्थाका रुपमा विकास गर्ने संजोगको सपना छ। १५ जनालाई लिने, उनीहरुको बेस्ट आइडियाको बिजनेस मोडल बनाउने, सुरुको लगानी पनि गरिदिने, पूरा लगानी उनले नै गरे पनि ८० प्रतिशत चाहिँ आइडियावालाकै लगानी मानेर काम गर्ने। लगानीकर्ता पनि कनेक्ट गराइदिने, एक वर्षसम्म सँगसँगै लैजाने, एउटा अफिस बनाइदिने, उनीहरुको लिगल र अकाउन्ट रिलेटेड विभाग पनि हेरिदिने संजोगको योजना छ। अबको एक वर्षमा त्यस्ता स्टार्टअपहरु सुरु गर्ने उनको योजना छ।

काममा आइडिया र मेहनतको भ्यालु दिनुपर्छ। संजोग भन्छन्, ‘नेपालमा बिजनेस विकास नहुनुको एउटा कारण त्यो पनि हो, पैसा हुने रियल स्टेट ब्रोकरसँग, उनीहरु एक वर्षमात्र पैसा होल्ड गर्न सक्ने, बिजनेस एक वर्षमा रिटर्न दिने हुँदैन। अनि आइडियाको मूल्य दिने संस्कार हाम्रोमा बन्नै बाँकी छ।’

‘राम्ररी लगानी गरिदिने कल्चर पनि छैन। आइडिया र बिजनेस मर्नेगरी खेल खेल्ने प्रवृत्ति छ’, संजोग समस्या सुनाउँछन्, ‘डिस्ट्रयाक्सन धेरै छ, नयाँ पुस्तामा। २ सेकेन्डमा मुड चेन्ज, डिसिजन चेन्ज भइरहने अवस्थामा छौं हामी।’

व्यवसायमा हुने स्ट्रेस म्यानेज गर्ने सवालमा संजोग भन्छन्, ‘गएको दुई वर्षमा मैले जम्मा १५ दिनमात्र बिदा लिएँ। नत्र बिहान ८ बजेबाट काममा लाग्छु र घर पुग्दा साँझको ९ बज्छ।’

संजोग समयको एकदम भ्यालु गर्छन्। आफूले दिएको समयमा एकदम सचेत हुन्छन्। ट्राफिक जाम, भर्याङ चढ्ने समयसम्म क्याल्कुलेट गरेर कामका लागि हिँड्ने उनको बानी छ। ‘समयलाई पर्फेक्ट रुपमा पालना गर्छु म चाहिँ’, उनी भन्छन्, ‘कसैको लहलहै या कुनै रमाइलोका लागि भनेर म काम छाड्ने गर्दिनँ कहिले पनि। एकदम मिल्ने साथी नै किन साथमा नहोस्।’

अर्को संजोगलाई लाग्छ, ‘म थाकेको छु भन्ने कुरा सोचमात्र हो। म थाकेको छुइन, फ्रेस छु भन्ने सोच्यो भने त्यस्तै लाग्ने हुन्छ। जीउलाई चाहिने रेस्ट रातको निद्राले पुगिहाल्छ।’ यसमा उनी ढुक्क छन्।  

‘म सक्दिनँ, म बिरामी पर्न लागेँ कि ? मलाई यति आराम चाहिन्छ कि ? म आज छिटो उठेर निद्रा पुगेन। मलाई शरीरमा केही भएजस्तो छ’, हो यस्तो कहिल्यै नसोच्ने बानीले संजोगलाई ताजा र स्फूर्तिलो राखेको छ हरदम। ‘साथीहरुले तँ त रोबोटजस्तो छस् भन्छन्। तर म अझै ५ वर्ष धेरै मेहनत गर्छु भन्ने थियो, फेरि यो महामारीले ब्याक टु जिरो ल्याइदिएको छ। फेरि दौडिनुपर्नेछ’, संजोग थाकेका छैनन्।

आफूलाई अपडेट राख्न, नयाँ–नयाँ आइडिया विकास गर्न संजोग फोनको एकदम राम्रो उपयोग गर्छन्। उनी गीत, टीभी सिरियलमा समय कटाउँदैनन्। विश्वको समाचार हेर्छन्। भारतलाई रिफरेन्समा राखेर अध्ययन गर्छन्। प्रविधिका कुराहरुमा चासो राख्छन्। 

मौका पाउनासाथ यात्रामा निस्किहाल्ने संजोगको बानी छ। तर उनको यात्रा जहिले पनि सिकाइको यात्रा हुन्छ। जहाँ पनि केही न केही व्यावसायिक उद्देश्यले हेर्छन्।

चियाअड्डाको कन्सेप्ट पनि त्यसरी नै आएको हो। चियाअड्डा सुरु गर्नुअघि दुबईमा मनपरेको क्याफेको फ्रेञ्चाइज ल्याउन खोजेका थिए, संजोगले। त्यसका लागि डेढ करोड तिर्नुपर्ने भयो। उनले आफैँ क्याफे सुरु गर्नु उपयुक्त ठाने र सुरु गरे चियाअड्डा। अहिले संजोग आफैं फ्रेञ्चाइज दिने योजनामा छन्। 

संजोगले नयाँ कुरा खोज्ने र सिक्ने सिकाइकेन्द्रित यात्रामा नै हो। किताबी अध्ययनको बानी अहिले स्थगित छ। गाडीमा यात्रा गर्दा पोडकास्टहरु सुन्छन् र बुकको समरीमा ध्यान दिन्छन्।

संजोगलाई लाग्छ, उत्प्रेरणा आफैँले ल्याउने कुरा हो। ‘मोटिभेसन भनेको आफैँभित्रबाट डिराइभ गर्नुपर्छ। बाहिरबाट हुने भनेको चाहिँ क्षणिक हो। सुतेर भोेलिपल्ट ब्यँुझिँदा हराइसक्छ’, उनको स्वभाव सुनाउँछन्, ‘म एक्लै बसेर खाना खान, चिया पिउन, थियटर जान, घुम्न निस्कन सक्छु।’

साथीभाइ भनेर वेट गर्ने र कामलाई मूल्य नदिने प्रथा हटाउनुपर्ने संजोगको धारणा छ। उनलाई लाग्छ, ‘काम नै धर्म हो। गरिहालिन्छ नि भनेर हुँदैन।’

संजोगको विचार छ, ‘आज नभए भोलि हुन्छ, के नै बित्या छ र भन्ने कल्चर हुनुहुन्न।’

व्यावसायिक चुनौतीको कुरा गर्दा, आठपटकसम्म बैठक, छलफल र प्रोसेसमा रहेको पार्टीलाई केही रेस्पोन्स नगरी कतै नदेखिएको र नामै नसुनिएको अर्को पार्टीलाई बिजनेस डिल गरिदिने परिपाटी संजोगले पाए। उनलाई आश्चर्य लाग्छ, ‘हामीलाई नआको हो कि, युवालाई विश्वास नगरेको हो कि, सरकारी काम हामीले नपाउने हो कि, बैंक ग्यारेन्टी दिन नसक्ने हो कि हामीले, हामीले नजानेको हो कि ? अस्वस्थ खेल चलिदिन्छ कि के हो, के हो !’ 

यस्ता सेटब्याक धेरै हुन्छन् तर जिम्मेवारीबोधले अगाडि बढाउँछ। ‘नेपालको व्यवसायमा नयाँ व्यवसायी हुनु नै पेलिनु हो’, संजोग भन्छन्, ‘मैले पनि एकदम फेस गरेको कुरा। नयाँ स्टार्टअप कम्पनीलाई सपोर्ट गर्न समयमै पे गरिदिनुपर्ने हुन्छ। तर, त्यस्तो पनि छैन नेपालमा। सकेसम्म अड्काउने र अड्को थाप्ने गरिन्छ।’

अहिले पनि आधा लिटर आइसक्रिम खाने संजोग कफी मन पराउँदैनन्। उनी चिया रुचाउँछन्। उनी भन्छन्, ‘चिया हाम्रो कल्चर हो। कफी होइन।’

चिया र कफी पिउनेहरुको सोसल ब्यारियर हटाउन जरुरी देखे संजोगले। स्ट्यान्डर्ड क्याफेमा बसेर सस्तैमा चिया पिउने कल्चर पनि बनाउन सकिन्छ। र, कफी र चिया पिउनेको हैसियत एउटै बनाउने उनको लक्ष्य थियो। त्यसकै लागि उनले चियाअड्डा सुरु गरेका हुन्।

चिया व्यवसायको सफलतामा संजोग मख्ख छन्। ‘सुरुसुरुमा चिया पिउन नपस्नेहरु पनि विस्तारै लाइन लागेर आए, मट्का चिया बेसी चल्यो।’

‘बेड टी’ पिएरमात्र गोडा भुइँमा टेक्ने संजोगको स्थायी बानी छ। उनी भारत जाँदा मट्का चिया पिउँथे। माटोको फ्लेभर आउने, मीठो चिया पिउन मन पराउने।

जर्नीका लागि चिया र चियाका लागि डेस्टिनेसन। शनिबार राति, आइतबारतिर बिहान ३ बजे नै चिया पिउन टाढाको यात्रामा निस्कन्थे। बाइकमा जान्थे साथीहरुसँग। बसस्टपमा बसेर चिया पिएको ताजा सम्झना उनीसँग छ। त्यसकै लागिमात्रै उनी त्यहाँ पुग्थे। फ्रेस हुनका लागि चिया पिउने उनको रुचि छ।

संजोग दिनको अधिकतम ३ कप चिया पिउँछन्। चियाको लत पनि उनीसँग छैन। उनी बानेश्वरको चियाअड्डामा दिनको सरदर ३५० कप चिया बिक्री गर्छन्। प्रायः मट्का चिया। अझै राम्रो लोकेसन भयो भने दैनिक ५ देखि ८ सय कप चिया बिक्छ भन्ने उनको विश्वास छ।

चियामा संजोग ऊर्जा पाउँछन्, ‘चिया पिउँदा केही न केही इनर्जी आउँछ। गर्मी, जाडो, पानी परेका बेला सबै सिजनमा चिया पिउने हो ? भन्ने हाम्रो प्रश्न आफैंमा सत्कार पनि हो।’

चियाअड्डामा प्रयोग हुने फ्लेभर इन्डियाबाट मगाउँछन्। चिया मसाला। उनकोमा सिंगापुरबाट ल्याएको क्विक पर्फमेन्स ओभन छ। अर्डर गरेको ६ मिनेटमा पिज्जा पाक्छ। अनि सस्तो पनि दिन्छन्, उनी। युवा विद्यार्थी उनको टार्गेटमा छन्।

२५ थरी चिया बनाउने योजना थियो, अहिले १२ थरीजति चिया पाक्छ चियाअड्डामा। चिया स्थानीय मार्केटबाट लिन्छन्, संजोग।

यो वर्ष १० ठाउँमा चियाअड्डा खोल्ने संजोगको चिया सपना छ। भन्छन्, ‘एक्लै गर्न सक्दिनँ। राम्रा मानिससँग सहकार्य गर्न मन छ।’

चियाअड्डाको व्यवसायलाई देशव्यापी लैजाने संजोगको र टिमको योजना छ।