​– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा लगानी गर्दा मुख्य रुपमा विगत र भविष्य हेर्ने गरिन्छ। बजारमा केही यस्ता कम्पनी छन्, जसका सेयर मूल्य तल आएको बेला खरिद गरेर राख्नु भनेको सुनकोशीमा सुन फलेजस्तै हो। त्यस्तै कम्पनीमध्ये एउटा हो, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड। 

अहिलेको मूल्य र यो कम्पनीको विगत तथा भविष्य हेर्दा दीर्घकालीन लगानीका लागि आफ्नो केही बचत लगानी गर्नसके धेरै उत्तम हुने चिलिमेको आधारभूत पक्षले देखाउँछ। भलै लगानीकर्ताको लगानी शैली र स्वभाव बजारमा फरक–फरक हुने हुँदा सबैको नजरमा सबै कम्पनी हुँदैन। 

आधारभूत पक्ष

देशका ४० वटा जलविद्युत् कम्पनीमध्ये चिलिमे सबैभन्दा धेरै लगानीकर्ताको आकर्षणमा पर्न सफल भएको कम्पनी हो। चिलिमे जलविद्युत् आयोजनाको निर्माण सन् १९९५ मा सुरु भएको थियो। सन् २००३ अगस्ट २५ बाट आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु गरेको पाइन्छ। 

रसुवा जिल्लामा स्थापित चिमिलेको आफ्नै २२.१ मेगावट क्षमताको आयोजना रहेको छ। यसअन्तर्गत ३ वटा भागिनी कम्पनीबाट २७०.३ मेगावट विद्युत् उत्पादनको चरणमा छन्। जसअन्तर्गत सान्जेन जलविद्युत् कम्पनीअन्तर्गत ४२.५ मेगावट र अप्पर सान्जेनअन्तर्गत १४.८ मेगावटका हुन्। यिनमा चिलिमेको ३८ प्रतिशत सेयर लगानी छ। दोस्रोमा १०२ मेगावटको मध्य भोटेकोशी जलविद्युत् कम्पनी पर्छ। यसमा पनि चिलिमेको ३८ प्रतिशत नै लगानी रहेको छ। त्यसैगरी रसुवागढी हाइड्रो कम्पनी लिमिटेडअन्तर्गत १११ मेगावटको आयोजनामा पनि चिलिमेको ३३ प्रतिशत लगानी रहेको छ। 

चिलिमेको सेयर पुँजी ६ अर्ब २८ करोड ७ लाख रहेको छ भने रिटेन अर्निङ ३ अर्ब ६७ करोड २० लाख रहेको छ। तेस्रो त्रैमाससम्म चिलिमेको खुद नाफा ५१ करोड रुपैयाँ छ भने प्रतिसेयर आम्दानी (ईपीएस) १०.८३ रुपैयाँ रहेको छ। नेटवर्थ १५८.४७ रुपैयाँ रहेको चिलिमेको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६०.४७ गुणा रहेको छ। चिलिमेको १० वर्षको लाभांश इतिहास हेर्दा वार्षिक औसत ३४ प्रतिशत रहेको छ।

प्राविधिक पक्ष 

फिवोनासी 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। ती गोल्डेन अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजारअन्तर्गत आगामी दिनमा यदि यो कम्पनीको सेयरभाउ बढेमा १ प्रतिशतको वृद्धि  ७१२ रुपैयाँ हुन्छ भने १.६१ प्रतिशतको वृद्धि ७९३ रुपैयाँ हुनेछ। त्यसैगरी २.६१ को वृद्धि ९२२ रुपैयाँसम्म पुग्ने देखिन्छ। यो औजारअन्तर्गत अघिल्लो बढेको मूल्यको ५० प्रतिशतको रिट्रेसमेन्टमा ६३१ रुपैयाँमा खरिद अवसर बनेको देखिन्छ। (तस्बिरमा ठाडो एरोले देखाइएको) 

 

एमएसीडी लाइन

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। एमएसीडी लाइनअन्तर्गत हिस्टोग्राम नेगेटिभ (तस्बिरमा कालो एरोले देखाएको) नै रहेका छन् तर छोटा–छोटा भएका छन्। यदि हिस्टोग्राम छोटा–छोटा हुँदै जान्छन् भने भविष्यमा बुलिस क्रसओभर हुन सक्ने र सेयरको भाउ बढ्ने देखिन्छ।

बोलिंगर ब्यान्ड

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो कम्पनीले बनाएको ब्यान्डलाई विश्लेषण गर्दा यदि ब्यान्ड साँघुरिएर ससेज आकार लिन्छ भने भविष्यमा मूल्य बढ्न सक्ने सम्भावना रहन्छ। पछिल्लो कारोबारमा ब्यान्ड खुम्चिएर ससेज आकार बनेकोले आगामी दिनमा मूल्यमा परिवर्तन आउन सक्छ।

 

आरएसआई विन्दु

यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ५४.४७  रहेको छ। जसको अर्थ कम्पनी न्युट्रल जोन नजिक छ भन्ने हो र अघिल्लोपटक यो विन्दु ७८.०५ को तहमा पुगेपछि करेक्सन आएको थियो। न्युन बिन्दु ४६.८७ मा आएपछि उकालो लागेको थियो। यो कम्पनीको आरएसआई बढ्दो क्रममा रहेको देखिन्छ। घट्दा पनि लोअर हाई बनाउँदै पुनः बढेको छ। 

मैनबत्ती विश्लेषण 

मैनबत्ती विश्लेषणअन्तर्गत यो कम्पनीको सेयर मूल्यले अन्तिम कारोबारको क्यान्डलले इन्भर्टेड ह्याम्मर बनाएको छ। यदि घट्दो मूल्यमा यस्तो संकेत मिल्छ भने सेयर मूल्यमा परिवर्तन अथवा बढ्ने सम्भवना हुन्छ।

पिभट विश्लेषण

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध

प्रतिरोध १–६४७ 

प्रतिरोध २– ६५४

प्रतिरोध ३– ६६६

पिभट पेइन्ट– ६४२

घटेमा सर्पोट

सपोर्ट १–  ६३५

सर्पोट २– ६३०

सर्पोट ३– ६१८

नोट : सेयेर बजारमा लगानी सधैँ जोखिमपूर्ण हुन्छ। विभिन्न प्राविधिक औजारले फरक–फरक संकेत गरेका हुन्छन्। लगानीकर्ताले लगानी गर्दा कुनै एउटालाई मात्रै आधार नमानेर समग्र अध्ययन गरी आफ्नो विश्लेषण र क्षमताअनुसार गर्नुपर्छ।