काठमाण्डौ । निकै कडा लकडाउनका कारण अप्रिलमा चीनमा आर्थिक संकट बढ्न थालेको छ। लकडाउनका कारण सांघाईलगायत धेरै सहरका कारखानामा उत्पादनसँगै माग पनि घटेको छ। 

अब चीनका यी प्रतिबन्धको प्रभावले विश्वव्यापी आपूर्ति शृंखला प्रभावित हुने डर सिर्जना भएको छ। जसका कारण मन्दीको दायरा बढेर विश्वभर पुग्न सक्छ। कोरोनाका कारण चीनमा लगाइएको कडा लकडाउनका कारण विश्वभर मन्दीको त्रास बढेको छ। 

वास्तवमा चीनका धेरै ठूला सहरहरुमा प्रतिबन्धका कारण सामान्य जीवनसँगै आर्थिक गतिविधिहरु पनि प्रभावित भएका छन्। जसका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्रको अवस्था नाजुक बनेको छ। 

लकडाउनका कारण अप्रिल महिनामा चीनमा आर्थिक गतिविधिमा भारी गिरावट आएको छ। चीनमा सांघाईलगायत धेरै ठूला सहरमा कोरोना भाइरसको संक्रमण निकै फैलिएको छ। जसका कारण कारखानाहरु बन्द हुनुका साथै सडकहरु सुनसान बनेका छन्। 

आपूर्ति शृंखला अवरोध

लकडाउनका कारण माग ह्वात्तै घटेको छ। जसले विश्वव्यापी आपूर्ति शृंखलालाई असर गर्ने सम्भावना बढेको छ। चीनमा कडा प्रतिबन्धका कारण अप्रिलमा मन्दी पनि उल्लेखनीय रुपमा बढेको थियो। कारखानाहरुबाट हुने उत्पादनमा भारी गिरावट आएको छ। यसका साथै माग पनि अनुमानभन्दा कम भएको छ। 

पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) अप्रिल महिनाको पहिलो यस्तो तथ्यांक हो, जसले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको ठूलो नोक्सानी र चीन सरकारको शून्य कोभिड नीतिको प्रभावलाई प्रत्यक्ष देखाएको छ।

चीनमा कारखाना गतिविधि दुई वर्षकै न्यूनमा झरेको छ। यस अवधिमा उत्पादन पीएमआई मार्चको ४९.५ बाट घटेर ४७.४ मा पुगेको छ। उत्पादनसँगै निर्माण र सेवा क्षेत्रको अवस्था पनि नाजुक बनेको छ। निर्माण र सेवा क्षेत्रका गतिविधिहरु मापन गर्ने गैरउत्पादन गेज मार्चमा ४८.४ बाट घटेर ४१.९ मा पुगेको छ। जुन फेब्रुअरी २०२० यताकै न्यून स्तर हो।

उत्पादन र माग दुवैमा तीव्र गिरावट

उत्पादन र माग दुवैमा तीव्र गिरावटका कारण उत्पादन गतिविधिमा गिरावट आएको हो। पछिल्लो समय कोरोनाको प्रकोपले चीनका धेरै ठाउँमा असर गरेको छ। जसका कारण धेरै उद्योगहरु उत्पादन घटाउने वा बन्द गर्ने अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा यो लकडाउनले चीनसँगै विश्व अर्थतन्त्रमा ठूलो असर पार्नेछ। –एजेन्सी

आगामी ६ महिनासम्म विश्वभर नै निकै अस्थिर वातावरण रहने आशंका गरिएको छ। यस अवधिमा आर्थिक र सामाजिक समस्याहरु पनि देखा पर्ने डर छ। चिनियाँ अर्थतन्त्रको नाजुक अवस्थाले रुस–युक्रेन युद्ध र मुद्रास्फीतिसँग लडिरहेको विश्वका लागि ठूलो समस्या ल्याउन सक्छ। विश्वव्यापी आपूर्ति शृंखला पनि बढी प्रभावित हुने अपेक्षा गरिएको छ।