काठमाण्डौ। कोरोनाभाइरसको उत्पत्तिका विषयमा गरिएको स्वतन्त्र जाँचको मागलाई चीनले खारेज गरिदिएको छ।

ब्रिटेनमा रहेका चीनका उच्च कूटनीतिज्ञ चेन वेनले बीबीसीसँगको कुराकानीमा यस किसिमको माग राजनीतिबाट प्रेरित रहेको र कोरोनाभाइरसविरुद्ध चीनको लडाइँ कमजोर गर्ने कोसिसमात्र रहेको दाबी गरेका छन्। 

बीबीसीका अनुसार कोरोनाभाइर संक्रमणको सुरुआतपछि पारदर्शिता नअपनाएको र सत्यतथ्य सूचना लुकाएको आरोप चीनमाथि लागेको छ। गत डिसेम्बरबाट चीनको वुहान सहरस्थित वेट मार्केट (मासु बजार) यो भाइरस फैलिएको बताइएको छ। 

युरोपियन युनियनको प्रतिवेदनमा पनि चीनले कोरोनाभाइरससँग जोडिएका सही सूचना सार्वजनिक नगरेको उल्लेख छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनकै कारण विश्वभर यो भाइरस फैलिएको आरोप लगाउँदै आएका छन्। उनले त चीनसँग तालमेल गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई अमेरिका दिँदै आएको फन्डिङसमेत रोकेका छन्।