काठमाण्डौ । चीनमा भित्रभित्रै आर्थिक मन्दीले अवस्था भयावह बनाउँदै लगेको एक मिडिया रिपोर्ट सार्वजनिक भएको छ । मन्दीकै कारण चीनको सबैभन्दा ठूला सरकारी बैंकले हजारौं कर्मचारीलाई विदा दिएका छन् । 

खबरमा बताइएअनुसार हाल चीनको बैकिङ प्रणाली निकै मुश्किलपूर्ण ढंगले चलिरहेको छ । बैंकहरुले लागत कम गरी अस्तित्व बचाउनका लागि विभिन्न आवश्यक कदमहरु लगातार चालिरहेका छन् । हजारौं कर्मचारीहरुलाई विदा दिइनुलाई पनि लागत कम गराउनका लागि चालिएको एक कदम भनिएको छ । 

मिडियाहरुमा आएका खबरहरुका अनुसार चीनका टप ४ सरकारी बैंकले कुल २२ हजार २ सय ६० मानिसलाई जागिरबाट निकालेका छन् ।

मन्दीका कारण कोइला तथा स्टील सेक्टरमा प्रोडक्सन घटाउँदा १८ लाख कामदारको जागिरमाथि सोझो असर पर्नसक्छ । त्यति मात्र होइन, बढ्दो मन्दीकै कारण चीनिया सेनाले पनि आगामी वर्षसम्म ३ लाख सैनिकलाई विदा दिने निर्णय सार्वजनिक भइसकेको छ । 

यी बैंकहरुले चालु वर्षको पहिलो ६ महिनामा ठूलो मात्रामा नोक्सानी व्यहोरेका थिए । यी बैंकहरु कर्मचारीको अधिक संख्याको समस्यासँग जुँधिरहेका थिए । सन् २०१५ को  अन्तसम्म चीनमा बैकिङ क्षेत्रको कुल कर्मचारी संख्या १८ लाख ७ हजारको ऐतिहासिक उचाईमा पुगेको थियो ।

नाफा घट्दा दवाब बढ्यो
नाफा घटेका कारण यी बैंकहरुमा लागत घटाउने दवाब परेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यही कारण बैंकले यति ठूलो संख्यामा कर्मचारीलाई जागिरबाट निकालेका हुन् । 

एक अनुमानअनुसार चीनका बैंकको मुनाफा अघिल्लो वर्षको तुलनामा ३.५ प्रतिशतले घटेको छ । चिनिया समाचार एजेन्सीका अनुसार गत वर्षको पहिलो त्रैमासमा देशका सबैभन्दा चार ठूला बैंकको प्रोफिट ग्रोथ एक प्रतिशत भन्दा कम रह्यो । 

ग्रोथमा मन्दी आएकै कारण बैंकहरुले कर्मचारीलाई धमाधम जागिरबाट निकालेका हुन् । बैंक अफ चाइनाले जनवरीदेखि जुनसम्ममा ६८८१ कर्मचारीलाई विदा दिएको छ । यसैगरी, एग्रीकल्चर बैंक अफ चाइनाले ४०२३ कर्मचारीलाई कामबाट निकालेको छ । इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइनाले ७६३५  कर्मचारीलाई निकाल्दा चीन कन्स्ट्रक्सन बैंकले चाहि ६७०० कर्मचारीलाई विदा गरेको छ । 

स्टील उद्योगमा पनि कटौति
मन्दीको दवाब बढेका कारण चीनको अन्य क्षेत्रमा समेत लागत घटाउने कोसिस जारी राखिएको छ । यसका कारण कयौं क्षेत्रमा रोजगारी घटिरहेको छ । चीन सरकारले यसअघि नै घोषणा गरेरै भनिसकेको छ मन्दीका कारण कोइला तथा स्टील सेक्टरमा प्रोडक्सन घटाउँदा १८ लाख कामदारको जागिरमाथि सोझो असर पर्नसक्छ । त्यति मात्र होइन, बढ्दो मन्दीकै कारण चीनिया सेनाले पनि आगामी वर्षसम्म ३ लाख सैनिकलाई विदा दिने निर्णय सार्वजनिक भइसकेको छ ।