काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। अस्पतालमा बिरामी भर्ना गर्ने ठाउँ छैन। अन्तिम संस्कारका लागि पनि घन्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। महामारीविद्हरुले पनि चीनको आधाभन्दा बढी जनसंख्या कोरोनाको चपेटामा पर्ने अनुमान गरेका छन्।

संक्रमणको बढ्दो गतिको बीचमा महामारीविज्ञहरुले गरेका भविष्यवाणीहरु अझ डरलाग्दो छन्। तीन दिनअघि ब्लुमबर्गले आफ्नो रिपोर्टमा यो हप्ता चीनमा एकै दिनमा ३.७ करोड कोरोना संक्रमितको मामिला देखिन सक्ने जनाएको थियो। यो संख्या अहिलेसम्मकै उच्च हुनेछ।

विज्ञहरुका अनुसार चीन सरकारले शून्य कोभिड नीतिअन्तर्गत मानिसलाई पहिले घरमै थुनेर राखेको थियो। जसका कारण उनीहरुमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुन सकेन र अहिले अचानक सबै खोलिदिएको छ, जसका कारण संक्रमण तीव्र गतिमा बढिरहेको छ।

साउथ चाइना मर्निङ पोस्टले लिक भएको दस्तावेजलाई उद्धृत गर्दै भनेको छ कि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले डिसेम्बर १ देखि २० सम्म देशमा करिब २५ करोड मानिस संक्रमित भएको विश्वास गरेको छ। अर्थात् २० दिनमा मात्रै देशको १८ प्रतिशत जनसंख्या संक्रमणको चपेटामा परेका छन्। 

इपिडिमियोलोजिस्ट एरिक फिगेल डिङले आगामी ९० दिनमा चीनको ६० प्रतिशत र विश्वको १० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण हुने अनुमान गरेको छ। यदि यसो भयो भने आगामी ३ महिनामा चीनका करिब ९० करोड मानिस कोरोना संक्रमित हुनेछन्। यस अवधिमा लाखौँको मृत्यु हुने सम्भावना पनि छ।

चीन सरकारले डिसेम्बरको सुरुमा नै शून्य कोभिड नीति हटाएको थियो। त्यसयता संक्रमण तीव्र गतिमा बढिरहेको छ।

चीनले अब कोभिड केसहरुको रेकर्ड नराख्ने कुरा गरेको छ। तर, चिनियाँ स्वास्थ्य अधिकारीहरुले सहरहरुमा दिनहुँ लाखौँ संक्रमितहरु आइरहेको स्वीकार गरिरहेका छन्।

सांघाईबाट अलि टाढा रहेको झेजियाङ सहरमा आइतबार १० लाखभन्दा बढी बिरामी देखा परेका छन्। केही दिनमा यो संख्या दोब्बर हुनसक्ने आशंका अधिकारीहरुले व्यक्त गरेका छन्। मतलब एक दिनमा २०–२० लाख केसहरु।

शानदोङ प्रान्तको छिङदाओ सहरको स्वास्थ्य आयोगका अध्यक्ष बो ताओले सहरमा दैनिक ४.९० लाखदेखि ५.३० लाख बिरामी आउने गरेको बताए।

त्यस्तै ग्वाङ्दोङ प्रान्तको डोङगुआन सहरको स्वास्थ्य आयोगले हरेक दिन साढे २ देखि ३ लाख नयाँ संक्रमित सहरमा आउने गरेको जनाएको छ। यी तथ्यांकहरुबाट अनुमान गर्न सकिन्छ कि चीनको अवस्था कत्तिको बिग्रँदै गएको छ।

अचानक बढेको कोरोना संक्रमणका कारण चीनको स्वास्थ्य प्रणाली नराम्ररी ध्वस्त भएको छ। अस्पतालमा बिरामी भर्ना गर्ने ठाउँ छैन।
समाचार एजेन्सीका अनुसार डाक्टर र मेडिकल स्टाफसँग सम्बन्धित व्यक्तिहरु पनि कोरोना संक्रमित भइरहेका छन् र तैपनि बिरामीको उपचार गरिरहेका छन्। –एजेन्सी