काठमाण्डौ । पछिल्लो समय चीनमा कोरोना संक्रमण बढ्दै गएको छ। नयाँ संक्रमित पुष्टि हुने संख्या निरन्तर बढिरहेको छ। 

यसैबीच संक्रमितको संख्या बढ्न थालेपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईमा लकडाउन घोषणा गरिएको छ। दुई वर्षभन्दा अगाडि कोरोना महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो।

नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ। सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसलाई ५ दिनसम्म अर्थात् अप्रिल १ सम्म घरभित्रै बस्न भनिएको छ। अत्यावश्यकीय सेवामा कार्यरतलाई मात्रै काम गर्न छुट दिइएको छ र सार्वजनिक यातायातका सेवाहरुमाथि रोक लगाइएको छ।

उद्योग तथा कम्पनीहरुले पनि आफ्नो काम स्थगित गर्नुपर्नेछ अथवा कार्यालयबाहिरैबाट काम गर्नुपर्नेछ।

सांघाईको पश्चिमी आधा भागमा शुक्रबारबाट लकडाउन गरिनेछ।

ठाउँ–ठाउँ छुट्याएर मानिसको ठूलो संख्यामा परीक्षण गरिँदैछ र संक्रमण देखिनेलाई अस्पताल वा क्वारेन्टिनमा पठाइनेछ।

चीनको एकदमै महत्वपूर्ण व्यापारिक केन्द्रले झन्डै एक महिनादेखि कोरोनाको नयाँ लहरको सामना गरिरहेको छ। यद्यपि त्यहाँ देखिएको संक्रमितको संख्या केही अन्तर्राष्ट्रिय मापदण्डले तोकेभन्दा धेरै होइन।

अढाइ करोड जनसंख्या रहेको यो सहरमा अधिकारीहरुले अर्थतन्त्रमा असर पर्न नदिन धेरै कोसिस गरेका थिए। तर, शनिबार त्यहाँ महामारीका सुरुका दिनमा देखिएयता उच्च संख्यामा संक्रमित देखिएपछि अधिकारीहरुले लकडाउन गर्ने निर्णय लिएका हुन्। 

पछिल्ला केही दिनदेखि संक्रमितको संख्या बढिरहँदा चीनको शून्य कोभिड नीतिलाई ठूलो चुनौती दिएको छ। छिटो सर्ने तर कम घातक हुने ओमिक्रोन भेरिएन्टको प्रकृतिले गर्दा शून्य कोभिडको रणनीति दीर्घकालका लागि टिकाउ हुन्छ भन्ने प्रश्न पनि उब्जाएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार घरेलुस्तरमा संक्रमित हुनेको नयाँ संख्या ४ हजार ५०० भन्दा बढी रहेको जनाएको थियो। –बीबीसीबाट