काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोनाको प्रकोप बढ्न थालेको छ। यसको सबैभन्दा ठूलो असर हेनान प्रान्तको राजधानी झेङ्झाउमा देखिएको छ। जसलाई आइफोन उत्पादन केन्द्र भनिन्छ। त्यहाँको ठूलो आईफोन कारखानानजिकै रहेको जिल्लामा कोरोना तीव्रगतिमा फैलिएसँगै लकडाउन गरिएको हो।

ब्लुमबर्गको रिपोर्टका अनुसार चीनको जिरो कोभिड नीतिअन्तर्गत जहाँ कोरोनाका नयाँ केसहरु आउँछन्, त्यहाँ फेरि लकडाउन लगाउने गरिन्छ। यो नीतिअन्तर्गत ठूलो जनसंख्या भएको झेङ्झाउमा लकडाउन घोषणा गरिएको छ। आईफोन निर्माता फक्सकन टेक्नोलोजीको प्लान्ट प्रभावित जिल्लानजिकै रहेको। यद्यपि यस विषयमा कारखाना व्यवस्थापनले कुनै प्रतिक्रिया दिएको छैन।

सरकारी सूचनालाई उद्धृत गर्दै सोमबारदेखि झेंग्झाउका करिब १० लाख मानिसलाई घरमै बस्न भनिएको छ। घरमा कैद हुँदा यी व्यक्तिलाई कोरोना परीक्षणका लागिमात्रै घरबाट बाहिर निस्कन दिइएको छ। यो लकडाउनमा अत्यावश्यकबाहेकका व्यवसाय पनि बन्द गरिएको सूचनामा भनिएको छ। 

चीन सरकारबाट जिरो कोभिड नीतिमा कुनै परिवर्तन नभएको संकेत पनि आएको छ।

हेनान प्रान्तको यो व्यस्त सहर झेङझाउमा कोरोनाका ६ नयाँ केसहरु भेटिएका छन्। अक्टोबर ९ मा त्यहाँ कुल कोरोना संक्रमितको संख्या ४० पुगेको थियो। यसबाहेक बेइजिङमा १३ र सांघाईमा ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन्। चीनमा कोरोनाका ६९७ सक्रिय केसहरु छन्। यहाँ कोरोना संक्र्रमितको संख्यामा कमी आए पनि जिरो कोभिड नीतिअन्तर्गत सरकार कोरोनाबारे कुनै ढिलाइ गर्ने मुडमा छैन।

चीनमा कोरोनाका नयाँ केस आउने थालेपछि अर्थतन्त्रमा पनि असर पर्न सक्ने देखिन्छ। विगतमा आएका रिपोर्टका अनुसार चीनको अर्थतन्त्रको गति सुस्त हुँदै गएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि सन् २०२२ मा चीनको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ भने सन् २०२३ मा ४.४ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण गरेको छ। यस्तो अवस्थामा कोरोनाका केस बढेमा यो चिनियाँ अर्थतन्त्रका लागि ठूलो संकट हुनेछ भन्ने स्पष्ट छ। –एजेन्सी