काठमाण्डौ । छिमेकी मुलुक चीनमा कोरोनाको प्रकोप फेरि बढ्दै गएको छ।

आज (नोभेम्बर २५)मा जारी गरिएको तथ्यांकअनुसार चीनमा पछिल्लो २४ घन्टामा फेरि एकपटक ३२ हजार ९४३ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा लगातार दोस्रो दिन ३० हजारभन्दा बढी कोभिडका केस आएका छन्। हिजो ३१ हजार ४४४ जनामा कोरोना पुष्टि भएको तथ्यांक सार्वजनिक थियो। हिजोको तुलनामा आज थप १ हजार २८७ जनामा पोजिटिभ देखिएको छ।

चीनमा लामो समयदेखि शून्य कोभिड नीति लागू भइसकेपछि पनि कोरोनाका बिरामी बढिरहेका छन्। चीनमा जाडो बढ्दै जाँदा संक्रमितको संख्या बढ्दै गएको छ। यसपछि बेइजिङलगायत धेरै सहरमा लकडाउन गरिएको छ। 

त्यसो त नोभेम्बर २१ मा बेइजिङमा कोभिडबाट ६ महिनापछि पहिलो मृत्यु भएपछि धेरै जिल्लामा केही प्रतिबन्ध लागू भइसकेका छन्। यी प्रतिबन्धअन्तर्गत पसल, विद्यालय र रेस्टुरेन्ट बन्द गरिएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार तथ्यांक सार्वजनिक गर्दै चीनमा २४ घन्टामा ३१ हजार ४४४ केस दर्ता भएको जनाएको छ। यसअघि अप्रिल १३ मा सांघाईमा लकडाउनका क्रममा सबैभन्दा बढी २९ हजार ३१७ जनामा संक्रमण देखिएको थियो। 

यसबाहेक बेइजिङमा पनि कोरोनाले चिन्ता बढाएको छ। त्यहाँको चाओयाङमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। 

पछिल्ला दुई सातादेखि भाइरसको संक्रमणमा अचानक वृद्धि भएको छ। स्थानीय प्रशासनले ठूला अपार्टमेन्ट ब्लक र व्यावसायिक भवनहरु बन्द गरेको छ। मानिसहरुलाई घरभित्रै बस्न भनिएको छ। सबैको घर–घरमा खाद्यान्न पुर्याउने काम भइरहेको छ।

बेइजिङबाहेक ग्वाङ्झाउ, चोङकिङ, जिनान, सियान, चेङ्दु र लान्झाउमा पनि कोरोना ठूलो मात्रामा फैलिएको छ। प्रशासनले झेङझाउ र आसपासका ८ जिल्लामा आजदेखि कडा लकडाउन लगाएको छ। त्यहाँ करिब ६६ लाख जनसंख्या छ। यो आदेशअघि यस क्षेत्रका २ लाख जनसंख्या डेढ महिनादेखि लकडाउनमा छन्।

चीनको लगभग सम्पूर्ण जनसंख्यालाई खोप लगाइसकेको छ। यद्यपि फेरि कोरोनाका केसहरु बढिरहेका छन्। 

तथ्यांकअनुसार चीनमा करिब ९३ प्रतिशत मानिसलाई खोप लगाइएको छ। जसमध्ये ९१ प्रतिशत पूर्ण खोप लगाएका छन्। यसबाहेक ५८ प्रतिशतले थप डोज लिएका छन्। –एजेन्सी